काठमाडौं। नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस संगठनको विस्तारित बैठक समापनका अवसरमा बोल्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरैपटक बसेर गोप्य कुराकानी गरेको र बंगलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरुबाट आफूहरुले थाहा पाएको बताएका थिए ।
नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरैपटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको बताएका थिए । नेपालले सरकारी एजेन्सीबाट ओलीको दिमागमा के चलिरहेको थियो भन्ने सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको बताएका थिए ।
नेपालको अभिव्यक्तिप्रति नेपाली सेनासमेत गम्भीर भएको उच्च अधिकारीहरुले बताएका छन् । ओली प्रधानमन्त्री भएका बेलाका सेनापति थापाले भने नेपालको भनाइ निराधार र आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।
थापाले भने– मेरो स्वभाव पनि सबैलाई थाहा छ । उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो टोटल्ली फल्स छ । यस्ता कुराको कुनै जस्टिफिकेसन छैन । राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँग म त्यसरी कहिल्यै बसिँन र मलाई तत्कालीन सरकार वा प्रधानमन्त्रीले कहिल्यै त्यसो भन्नु पनि भएन । यो कुरा किन र कुन उद्देश्यले आएको हो जिम्मेवार व्यक्तिहरुले नेपाली सेनालाई यसरी विवादमा तान्न हुँदैन ।
के भनेका थिए नेपालले ?
त्यसबेला केपी ओलीले प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग धेरैपटक गोप्य कुराकानी गरेका थिए । उनको दिमागमा बंगलादेश चलिरहेको थियो । चुनाव गराउने, ठटाउने, जम्मै सेटिङ मिलेकै थियो, निर्वाचन आयोगले चुनाव घोषणा गर्ने अनि कब्जा गर्ने ।
चोलेन्द्र शमसेरसँग हप्ताका दुई दिन बालुवाटारमा भेटेर स्थानीय चुनावम कुन कुन न्यायाधीश कहाँ खटाउने, अर्को प्रहरीका मान्छे बोलाएर कुन प्रहरी कहाँ खटाउने ? त्यो सबै वर्कआउट भएको थियो । सबै कुरा सरकारको एजेन्सीबाट थाहा पाइयो । मैले पनि सरकारका एजेन्सीबाट थाहा पाएँ । उनको त्यो दिमागमा चलिरहेको थियो ।
पुस ५ मा संसद विघटन गर्छु, दुईतिहाई बढी ल्याउँछु । कसैले चित्त नबुझे अदालत जान्छ । अदालत आफ्नै छ, उल्ट्याइदिन्छु । निर्वाचन आयोग आफ्नै छ, त्यसले नभए सम्पत्ति शुद्धीकरण लगाइदिन्छु । राजश्व अनुसधान लगाउँछु । व्यापारी छन् भने त्यहिँ सकिन्छन् । अरु कोही छन् भने छानबिनबाट त्यहीं झुण्डिरहेका हुन्छन् । साइबर स्याल खडा गरेकै छ, साइबर स्यालले हो हो भन्ने यस्तोसम्म थियो । (नेपाल प्रेसले यो समाचार लेखेको छ ।)
प्रतिक्रिया दिनुहोस्