Ads

एमालेको विजय देशको विकासका लागि, समृद्धिका लागि : ओली


बुटवल ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् ।

पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई ‘कुनै जमानाको ठूलो गोरु भएको बलियो साँढे’ भन्दै बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘उनीहरूलाई कठै बरा बिचराबाहेक केही भन्न आवश्यक नै छैन, कुनै जमानामा ठूलो गोरु भएको बलियो साँढे थियो नेपाली कांग्रेस, अहिले बैशाखी खोजेर हिँड्नुपर्ने भएको छ ।’

ओलीले अरू विचारै नभएका दलहरूको विषयमा धेरै कुरा गरेर समय फल्न आवश्यक नरहेको पनि बताए ।

एमालेको शक्तिका बारेमा कांग्रेस सभापतिले नै प्रस्ट भनेको उल्लेख गर्दै ओलीले भने, ‘एमालेको शक्ति कति छ भन्ने कुरा केही दिनअघि प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा आफैले भनेबाट प्रस्ट छ। अब सबै मिलेर आए पनि एमालेलाई गलाउन सक्दैनन्, एमालेको विजय देशको विकासका लागि, समृद्धिका लागि चाहिएको छ, त्यो जनलहरले प्रस्ट छ ।’

नेता ओलीको भनाइ थियो -‘चुनाव नजिक आउँछ, जनतामा अनुचित भ्रमहरू मच्चाउन खोजिन्छ, मधेसी,पहाडी भनेर, हिन्दु र मुस्लिम भनेर झगडा लगाउने खेलो सुरु हुन्छ, यसबाट सचेत बनौँ, हामी नेपाली सबै समान हो, सबै मिलेर देश बनाउने हो’

विभिन्न नेताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले कपिलवस्तु एमालेको लाल किल्ला भइसकेको बताए ।

उनले  भने, ‘एमाले प्रवेश गर्ने सबैको भविष्य सुनिश्चित छ, किन एमालेमा आएछु भन्नुपर्नेछैन, एमाले कसैलाई अलमलाउने पार्टी होइन, आफ्ना स्वार्थका लागि होइन देश बनाउनका लागि एमाले बलियो बन्दै छ ।’

 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले शक्तिशाली भए कै कारण विपक्षी गठबन्धन बनेको बताएका छन् । कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सबै गठबन्धन गरेर आए पनि एमालेको विजययात्रामा बाधक नबन्ने दाबी गरे ।

नेता पौडेलले भने, ‘गठबन्धन गरेर आउन् वा एक्लै आउन् हामीलाई समस्या छैन, गठबन्धन एमाले बलियो भएकाले बनेको हो, त्यो प्रधानमन्त्रीले नै भन्नुभएको छ, ७४ सालमा कांग्रेस माओवादीको गठबन्धन हेरेका हौं भोगेका हौं, त्यसैले आफ्नो संगठन बलियो बनाऔं, हाम्रो विजययात्रा कसैले रोक्न सक्दैन ।’

राजनीतिक इतिहास जोडिएका व्यक्तिहरूको एमाले प्रवेशले अब कपिलवस्तु एमालेको किल्ला बन्ने पौडेलले बताए ।

एमालेमा आएकालाई सम्मान र स्वाभिमानका साथ जिम्मेवारी दिने प्रतिबद्धता जनाउँदै पौडेलले आउँदो मंसिरमा एमालेको सरकार बन्ने र नेता बृजेश गुप्तालाई मन्त्रिपरिषद्‍मा एमालेले स्वागत गर्ने नेता पौडेलले बताए ।

कपिलवस्तुमा एमालेसँग तुलना गर्ने कुनै पार्टी नरहेको यहाँको सहभागिताले प्रष्ट पारेको र अब बाँकी रहेका एमाले प्रवेश गर्नेहरुको लावालस्कर लागिरहेको नेता पौडेलले बताए ।

पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराईमा एमालेप्रतिको बढ्दो आकर्षणले एमाले पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नु भएको छ ।

कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता पोखरेलले हिजोआज देशव्यापी लहरले कुनै गठबन्धनले एमालेको विजययात्रालाई रोक्न नसक्ने बताउनु भयो ।

‘हिजो एमाले र अध्यक्ष केपी ओलीलाई तराई मधेसको विरोधी भन्नेहरूले यतिखेर कुनै कोठामा बसेर झ्यालबाट हेरिरहेका होलान् एमालेको जनलहर, एमाले नेतृत्वको सरकारले तराईको विकासमा गरेको विकासको नेतृत्वलाई तराईका जनताले कसरी पत्याए भनेर’, पोखरेलले भन्नुभयो ।

कपिलवस्तुको विकासलाई आफ्नो नेतृत्वको प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनुभयो । दीर्घकालीन विकासका योजनाका वृहत योजनालाई अगाडि सारेको बताउँदै महासचिव पोखरेलले समृद्ध कपिलवस्तु बनाउने योजना एमालेले पूरा गर्ने बताउनुभयो ।

नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर : सचिव रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेको बताउनु भएको छ।

कपिलवस्तुमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेको दावी गर्नुभयो । सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्ला–एक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताउनु भयो । उहाँले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको आरोप पनि लगाउनु भयो ।

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताउनु भयो । उहाँहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागे । तर, अहिले कांग्रेसले समेत हेपेको दाबी गर्नुभयो ।

नेपालका शीर्ष नेता भारतसँग झुक्छन् तर अध्यक्ष केपी ओली भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता भएको उहाँले दावी गर्नुभयो । ओली नेतृत्वको सरकारले भारतले मिचेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गरेको बताउनुभयो ।

Ads

सम्बन्धित पोष्टहरू