काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा आज( बिहिबार) आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् । नेपाली कांगे्रसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट पारे । उनले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा राखेका छन् ।
प्रधानमन्त्री देउवाले पूर्ण प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई चलाएमान बनाउने बताउँदै अब हुने स्थानीय, प्रदेश र सङ्घको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सहयोग गर्न आमसञ्चार माध्यमसँग अनुरोध पनि गरेका छन् ।
उनले भने, “मुलुकको विकासको लागि सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ, मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्न मिडियाको भूमिका महत्वपूर्ण छ, अब निर्वाचन सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानका लागि पनि मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने छ ।”
प्रतिक्रिया दिनुहोस्