काठमाडौं । सार्वजनिक यातायातमा भाडा बढ्ने भएको छ । यस्तो दर आइतबारबाट लागू हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा प्रणाली सम्बन्धी कार्यविधि स्विकृत गरेकी हुन् ।
नेपालमा पहिलोपटक सार्वजनिक यातायातका साधनको भाडादरमा स्वचालित प्रणाली लागू भएको छ ।
मन्त्रालयले उक्त कार्यविधि स्विकृत गरेर यातायात व्यवस्था विभागलाई पठाइसकेकाले उक्त कार्यविधि अनुसार भाडादर निर्धारण गर्ने काम भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार स्वचालित भाडा प्रणाली लागू भएसँगै अबदेखि पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशत घटबढ हुँदा सार्वजनिक यातायातका साधनको मुल्य पनि घटबढ हुने छ । पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा कमको तलमाथि हुँदा भने सार्वजनिक सवारीको भाडा चलाइने छैन ।
महानिर्देशक घिमिरेका अनुसार अहिले पेट्रोलियम पदार्थको मुल्य ३४ प्रतिशतले बढेको हुनाले त्यसैका आधारमा यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रमा रुटअनुसार कम्तिमा १० देखि १४ प्रतिशतसम्मले भाडा बढ्नेछ । तर, विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर भने आइतबार प्रकाशित गर्ने महानिर्देशक घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस्