सो अवसरमा उहाँले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीमद सिल्वाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम लिलाराज खड्का र द्वितीय प्यूठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभयो । उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाण सैनिक मञ्च टुँडिखेल जानुभई सेनाद्वारा प्रस्तुत अश्वकला र कुकुरका विभिन्न क्रियाकलाप र खेलको अवलोकन गर्नुभयो ।
सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत राईडर पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, साइकल दौड, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, लान्स, क्रिज र सुइरो, घोडा लडाउने र कुदिरहेको घोडाबाट चढ्ने र ओर्लने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हङ्गेरियन पोष्ट र सामूहिक जम्प प्रदर्शन गरियो ।
कार्यक्रममा कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक क्रियाकलाप र कलासमेत प्रदर्शनी गरियो । कुकुरलाई इमान्दार र आज्ञापालक जनावरका रुपमा लिइछ । घोडेजात्रा अवलोकनका लागि कायम मुकायम प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख, नेपालस्थित सैनिक सहचारी तथा समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुग्नुभएको थियो ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको छ । नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चार माध्यमले घोडोजात्रा मूल समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए भने जात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको घटना र भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ ।
गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिँदै आएकोे भनिएको छ । घोडेजात्राका परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्राको दिन घोडा र कुकुरका विभिन्न कौशलपूर्ण एवम् रोमाञ्चक क्रियाकलाप प्रदर्शनीको व्यवस्थापन गर्दैआएको छ ।
प्रतिक्रिया दिनुहोस्