काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न गर्नुभएको छ ।
आज अनेरास्ववियुको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावका बेला प्रधानमन्त्री किन विदेश भ्रमणमा जानुभएछ भनेर प्रश्न गर्नुभएको हो ।
अध्यक्ष ओली भन्नुभयो, ‘प्रधानमन्त्री देउवाजी भारत भ्रमण जानुभएछ, ठ्याक्कै चुनाव अगाडि किन जानुभएछ ? यतिबेलै किन जानुभयो ?’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ऐंजेरुको संज्ञा पनि दिनु भएको छ। उहाँले विद्यार्थीहरुको मुल संगठन अनेरास्ववियू रहेको भन्दै नेविसंघ खोलेर केही भाइबहिनी बेकारमा बसेको समेत बताउनु भयो ।
‘नेविसंघ खोलेर किन भाइबहिनी बसेका छन् बेकारमा, अरु त पछि पलाएका चिउला हुन्, यी प्रचण्ड–माधव भनेको त ऐंजेरु हुन् ऐंजेरु’, ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले एमालेलाई पहिला माधव नेपालहरुले हार्ने बानी लगाएको भन्दै आफुले जित्ने एमाले बनाएर युवाहरुलाई हस्तान्तरण गर्ने पनि बताउनु भयो । आफुले पहिला पनि माओवादीको गलत नीतिको विरोध गरेको भन्दै उहाँले प्रचण्डपथ भनेको के रहेछ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले एमालेले सामाजिक जागरणका रुपमा वैज्ञानिक चेत फैलाउने दावी समेत गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्