काठमाडौं, चैत १९ गते । तीनदिने भारत भ्रमणमा रहनुभएको प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समास्या द्विपक्षी संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको बताउनुभएको छ ।
शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाल–भारतबीचको सीमा विवाद विषयलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेको बताउनुभएको हो ।
‘हामीले सीमा विषयका बारेमा छलफल गर्यौं । र मैले मोदीजीलाई यो विषय द्पिक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छु ।’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
भारतीय प्रधानमन्त्री मोदीले पनि सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न प्रस्ताव गर्नुभएको छ । ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।,’ उहाँले भन्नुभयो । पछिल्लो समय नेपाल–भारतबीच सीमा विवादका कारणले समस्या भइरहेको छ । दुई देशबीच सीमा समस्या समाधानको लागि पटक–पटक पहल भएपनि अघि बढ्न सकेको छैन ।’
प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रता र नागरिकबीचको सम्बन्ध जस्तो उदाहरण विश्वमै कहीँ देख्न नपाउने बताउनुभएको छ । ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धकाे उदाहारण विश्वमै कहीँ देख्न पाइँदैन ।,’ मोदीले भन्नुभयो । साथै उहाँले दुई देशको सभ्यता, संस्कृति आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको पनि बताउनुभएको छ ।
यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबाहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको पनि बताउनुभएको छ । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएकाे उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्