काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएर राष्ट्रिय दलाली गरेको आरोप लगाएका छन् ।
एमालेनिकट नेपाल बुद्धिजिवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दिल्लीस्थित नेपाली दूतावासमा चुच्चेनक्सा नराखिएको विषयमा पनि प्रधानमन्त्री देउवालाई दोषी देखाए ।
उनले प्रश्न गरे – ‘नेपालको दिल्लीस्थित राजदूतावासमा टाँगिएको फोटोमा नेपालको नक्सा बुच्चे नक्सा राखिया’छ । योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको गौरव निहुराउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ?,’
प्रधानमन्त्री देउवाले ‘सरकारका १०० दिन’ भन्ने पुस्तकमा चुच्चे नक्सा नराखेर बुच्चे नक्सा राखेर देशको दलाली गरेको ओलीको आरोप छ ।
उनले भने ‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको १०० दिनमा चुच्चे नक्सा हटाउनुभो, के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलवाड हो ।’
उनले चुनावको मुखमा प्रधानमन्त्री देउवा गएको विषयमा प्रश्न गर्दै भने,‘यही कुराका लागि जानुभएको हो दिल्ली ? केका लागि जानुभएको हो ?’
फर्किनुभन्दा अगाडि चुच्चेनक्सा राखेर आउने/नआउने विषयमा पनि उनले प्रधानमन्त्रीसँग जवाफ खेजेका छन् ।
‘हाम्रो संविधानले भनेको रहेको नक्सा, हाम्रो सरकारले बनाएको नक्सा त्यो नक्सा झुण्ड्याएर फर्किनुहुन्छ कि, हटाएको राखेर फर्किनुहुन्छ शेरबहादुर जी ?’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्