काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ ।
यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।
विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वचालित भाडा दर कायम गर्ने निर्णय गरेको थियो ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई मध्यनजर गर्दै लामो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउने निर्णय गरिएको विभागका प्रवक्तासमेत रहेका उपसचिव डा. लोकनाथ भुसालले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा न्यूनतम मूल्य पाँच प्रतिशत घटबढ हुनासाथ स्वचालित भाडा दर अनुसार गाडी भाडा समायोजन हुनेछ ।
गाडीका पार्टपुर्जासहित अन्य पक्षको मूल्यवृद्धिको भने हरेक वर्ष चैतमा पुनरावलोकन गरेर भाडा समायोजन गरिने जनाइएको छ ।
यसअघि सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार पेट्रोलमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि मात्र भाडा समायोजन हुँदै आएको थियो ।
उक्त व्यवस्था प्रभावकारी नभएपछि विभागको प्रस्तावमा मन्त्रालयले पाँच प्रतिशत मूल्य घटबढ भए मात्रै समायोजन गर्ने स्वचालित प्रणाली लागू गरेको हो ।
कुन रुटमा कति ?
प्रतिक्रिया दिनुहोस्