Ads

मतपत्र छपाई सुरु : २३ समूहका ७७ प्रकारका,धेरै काठमाडौंमा, कम डोल्पामा


काठमाडौँ ।  आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज(सोमबार) देखि मतपत्र छपाई सुरु भएको छ ।

आयोगको निर्णयपछि जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र छपाई आजदेखि सुरु हुने भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने भएको छ । आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ । निर्वाचनमा राजनीतिक दललाई प्रचारप्रसार र मतदाता शिक्षाका लागि सहज होस् भन्ने हेतुले आयोगले एक लाख ८० हजार थान नमूना मतपत्र छपाई गरिसकेको छ । राजनीतिक दलको आधिकारिक पत्रका आधारमा रु सात हजारमा देशभरको तथा पाँच हजार तिरेर प्रदेशको मतदाता नामावली आयोगबाट लिन सकिने बताइएको छ ।

जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको निवेदनका आधारमा जिल्लाभरको रु तीन हजार, पालिका तहको रु एक हजार तथा वडाको रु ५ सय तिरेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट मतदान नामावलीको विद्युतीयप्रति लिन सकिने व्यवस्था छ । निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका आयोगबाट पारित भई कार्यान्वयनमा आइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू