Ads

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत


काठमाण्डौ । रासस
सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ ।

नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक औपचारिकरूपमा नेपालको बिजुली भारतको बजारमा प्रवेश पाएको थियो । गत कात्तिकदेखि भारतीय अनुदानमा निर्माण भएको नै सही, ३९ मेगावाट बिजुली बिक्रीको मार्गप्रशस्त भएको थियो ।

पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार आगामी मनसुनको समयमा झण्डै ३६० मेगावाट बिजुली भारतीय बजारमा प्रवेश गर्ने मार्गप्रशस्त भएको छ । यसबाट वर्षाको समयमा खेर जाने बिजुलीले भारतीय बजारमा प्रवेश पाउनेछ भने त्यसबाट नेपाली लगानीकर्तालाई समेत बजारको खोजी र विस्तारमा थप सहयोग प्रदान गर्नेछ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई बिजुलीको व्यापारका लागि अनुमति दिइसकेको छ । निजी क्षेत्रले पनि क्षेत्रीय बजारमा बिजुली पु¥याउनका लागि अनुमति माग गरिरहेको अवस्था छ ।

स्वतन्त्र ऊर्जा उद्यमीहरूको संस्था नेपाल ९इपान०को तर्फबाट पनि नेपाल पावर एक्सचेन्ज लिमिटेड नेपेक्स स्थापना गरी बिजुली बिक्रीको तयारी गरिरहेको छ । यद्यपि, सो कम्पनीले हालसम्म सरकारबाट अनुमति पाएको छैन ।
प्राधिकरणको विवरणअनुसार गत मनसुनमा मात्रै झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्य झण्डै रु पाँच अर्ब बराबर थियो । पछिल्लो भ्रमणका क्रममा भारतीय पक्षले नेपालमा जगेडा हुने बिजुलीको उपयोग एवं खरिदका लागि आफूहरू तयार रहेको बताएको छ । भारतीय बजारमा नेपालको बिजुलीले प्रवेश पाउँदा त्यसले पार्ने प्रभाव रणनीतिक हुने सरकारको बुझाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू