काठमाडौँ । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै रहेको छ ।
घिमिरेले हालसम्म गणना भएका मध्ये ९ सय ५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४ सय ४७ मत प्राप्त गरेका छन् ।
नेपाल बार एसोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ । महासचिवमा हालसम्म अन्जिता खनालले ८ सय १३ र केदारप्रसाद कोइरालाले ५ सय ३१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भरतबहादुर राउतले ८ सय ७० र जगतबहादुर कार्कीले ४ सय ८६ मत प्राप्त गरेका छन् ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० मतदाता रहेका थिए । सात हजार ४२९ मत मात्र खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्