काठमाडौँ । कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका साथ राजधानीमा तीन दिने गोष्ठीको आयोजना गरिएको छ ।
कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आज(बुधबार)देखि सुरु भएको गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुनेछ । सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला तथा भारतका प्रख्यात कृषि वैज्ञानिकको सहभागिता रहेको छ ।
नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।
तीन दिनसम्म हुने छलफलमा उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि आवश्यक सुझाव प्राप्त हुनेछ । कृषिजन्य उत्पादनको अन्तरराष्ट्रिय व्यापारका बारेमा पनि गोष्ठीमा छलफल हुनेछ । यस्तै छिमेकी भारतमा कृषिमा दिइने अनुदानका बारेमा पनि अनुभव आदनप्रदान हुनेछ ।
कार्यक्रमका दौरान विभिन्न एक दर्जन बढी विषयमा सामूहिक छलफल हुनेछ । गोष्ठीमा नेपालको मलखाद नीति र अनुदान प्रक्रिया, माटोमा हुने खाद्य पोषक तत्वको अवस्था, माटोका प्रकार र तिनमा आवश्यक पोषक तत्वका बारेमा विषय विज्ञबाट छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्