काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता गठबन्धन नेपाली राजनीति र नेपालीहरुको हितमा नरहेको बताएका छन् ।
शनिवार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निहित स्वार्थ पुरा गर्न बनेको वर्तमान सरकार कुनै किसिमले नेपाली नागरिकको हितमा नरहेको बताएका हुन ।
उनले केही व्यक्तिका आफन्त र नजिकका मान्छेहरुलाई नियुक्ति गर्न र जागिर खुवाउनका लागि वर्तमान गठवन्धन बनेको पुष्टि हुँदै गएको भन्दै यो गठबन्धनको कुनै प्रभाव नरहेको बताएका छन् ।
एक प्रसंगमा अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् ।
उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि नकारात्मक असर पार्ने बताए । ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन् ।
नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धराशायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुखद भएको बताएका छन् ।
सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्