काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । दलहरू उम्मेदवारहरूको खोजीमा रहेका छन् भने युवाहरुको पनि दाबी बढिरहेको छ ।
गत स्थानीय निर्वाचनमा भन्दा यस निर्वाचनमा वडादेखि महानगर सम्म युवाको सक्रियता बढिरहेको देखिन्छ । यसरी कपिलवस्तुमा युवाहरुको सक्रियता बढिरहेको बेला नेपाली काँग्रेसका युवा नेता तथा व्यवसायी कृष्ण गिरि चुनावी मैदानमा उत्रिएका छन् ।
बुद्धभूमि नगरपालिकाका नगर सचिव गिरी स्थानीय निर्वाचनमा वडा नम्बर ४ को वडा अध्यक्षका आकाङ्क्षी हुन् । अबको आवश्यकता युवाको भएको र युवामा नयाँ सोच जागर र क्षमता हुने भन्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक स्तरोन्नती, आत्मनिर्भर तथा स्वरोजगारका क्षेत्रमा विकास गर्नका लागि युवाहरुको नेतृत्व आवश्य रहेको उनले बताएका छन् । सक्रिय राजनितीमा रहेका गिरीले नगरको जिम्मेवारी र नेतृत्वको लागि सबैको साथ आवश्यक रहेको बताउँदै वडाध्यक्ष जितेमा सरकारबाट पाउने सेवा सुविधा समेत जनतामा समर्पित गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस बाणगङ्गा नगरको मेयर पदमा २९ बर्षीय युवानेता चन्द्रकान्त पोख्रेलले दाबी गरेका छन् । हरेक कठिन परिस्थितीमा जनताको घर सम्म पुग्ने पोख्रेल युवाका माँझमा लोकप्रिय छन् । जाडोको समयमा गरिब तथा विपन्न परिवारलाई सिरक, डसना जस्ता न्यानो कपडा वितरण गर्ने र सधै सामाजिक कार्यमा समर्पित हुदैं आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न समक्ष रहेका उनले नगरलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, संचारलगायतका क्षेत्रमा लाग्ने बताएका छन्।
त्यस्तै जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा युवा समाजसेवी टिआर पाण्डेले उम्मेद्वारी दिने घोषणा गरेका छन् । २६ बर्षीय पाण्डेले ‘युवाको काँधमा वडाको जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै आफु अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । वडाको विकास एवम् समृद्धिमा अग्रजको सल्लाह सुभावसंगै युवाको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । पाण्डे सक्रिय राजनितीमा मात्र नभएर पछिल्लो समय युवा समाजसेवीको रुपमा स्थापित छन् ।
त्यसैगरी ३१ बर्षीय थानेश्वर अर्याल९अच्युत० ले बुद्धभुमी वडा नम्बर १ को वडा अध्यक्षमा दाबी गरेका छन् । अर्यालले समाज र देशका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले समाज विकासका लागि अब युवाको नेतृत्व अति आवश्यक रहेको बताए । सबैको सल्लाहलाई आत्मसाथ गर्दै युवाले नेतृत्व गर्न सक्ने वातावरण बनाउन पनि उनले पार्टीलाई अनुरोध गरेका छन् । वडाको विकास, कृषि उत्पादनमा जोड, खानेपानीको व्यवस्थापन र शिक्षाको क्षेत्रमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्