बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको रहस्यमय तरिकाबाट मृत्यु भएको छ ।
माइती पक्षले आत्महत्या नभई अमृताको हत्या भएको दाबी गरेका छन् । उनीहरुले श्रीमान् प्रेम टण्डन र आफन्तबाट हत्या भएको भन्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् ।
तिलोत्तमा–२ भेटेनरी लाइनकी स्थानीय २९ वर्षीया अमृता खत्री विष सेवनबाट सिकिस्त भएको पाइएको र बुधबार राति करिब पौने दस बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीडकलाई कारबाहीको माग गर्दै बिहीबार बिहानदेखि दिउँसोसम्म माइती र स्थानीयले घर घेराउ गरेका हुन् । पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको स्थानीयको दाबी छ । दबाब बढेपछि सोधपुछका लागि भन्दै प्रहरीले प्रेमलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार विष सेवन गरेकी अमृतालाई उनका श्रीमान्ले नै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएका थिए । तर अस्पतालले ९ बजेर ५५ मिनटमा उनलाई मृत घोषणा गरेको थियो । बाटोमा आउँदै गर्दा मृत्यु भएको अस्पतालको सूचनामा उल्लेख छ । यद्यपि माइतीले हत्याको दाबी गरेपछि प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अनिताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो । करिब १० बजेर १५ मिनेटपछि प्रेमले बहिनी बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । यही आधारमा माइतीपक्षले अमृताले विष सेवन गरेको नभई उनका पतिले विष खुवाएको दाबी गरेको छ । अमृताको डायरीमा रहेको अन्तिम पाना च्यातिएकाले पनि घटना रहस्यमयी भएको दाजु दाजु पुष्पकले बताए ।
तिलोत्तमा–२ बरपिपलपथकी अमृताको करिब ९ वर्षअघि बिहे भएको थियो । उनका ८ वर्षे छोरा छन् । भारतमा मजदुरी गर्ने प्रेम ५ वर्ष यता तिलोत्तमामा बस्न थालेका थिए । मंगलबार मात्रै अमृतामाथि कुटपिट भएपछि छिमेकीले माइतीपक्षलाई बोलाएका थिए । माइतीले मिलेर बस्न आग्रह गर्दै फर्केका थिए ।
बुधबार साँझ अमृता घरपरिवारले भारत जान दबाब दिएको तर आफूलाई षड्यन्त्र गरेर मार्ने योजना बनाएको आशंका रहेको भन्दै माइतीघर गएकी थिइन् ।
श्रीमान् प्रेमले घर नआए छोरालाई जे पनि गर्ने भनेपछि उनी साँझ ७ बजेतिर फर्केको दाजु पुष्पकले बताए । अमृताले नयाँ मिलमा रहेको एक फर्निचर उद्योगमा काम गर्थिन् । घरपक्षले बुहारीले जागिर खाएको राम्रो नहुने भन्दै छोड्नसमेत दबाब दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्