Ads

कुलमान र नेत्रनाथलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौँ। आचारसंहिता उल्लंघनका घटनाहरू बढेका बेला निवार्चन आयोगले प्रतिकृया जनाउन थालेकाे छ ।

आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको आयोगका एक अधिकारीले जानकारी दिए । दुवैलाई पत्र पठाएर ७ दिनभित्र आयोगका प्रश्‍नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।

नेकपा (माओवादी केन्द्र)ले घिसिङको तस्बिर निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको थियो । सोही विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । माओवादीको चुनावी पोष्टरमा फोटो राखी प्रचारप्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन आयोगले घिसिङलाई स्पष्टिकरण सोधेको हो ।

त्यस्तै, गण्डकी प्रदेशसभाका सभामुख अधिकारीलाई २०७४ सालको प्रदेशसभा निर्वाचनमा भएको खर्चबारे दिएको भनिएको अभिव्यक्तिलाई लिएर आयोगले प्रस्ट पार्न भनेको हो ।

निर्वाचन आयोगमा आफूले खर्चको गलत विवरण बुझाएको भनी अधिकारीले अभिव्यक्ति दिएका समाचार सार्वजनिक भएका थिए । आयोगले सोधेको छ, ‘विभिन्न सञ्चारमाध्यममा निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च भएको निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिनु भएको भन्ने समाचार प्रकाशन तथा प्रसारण भएकोमा तपाईंले त्यस्तो अभिव्यक्ति दिनु भएको हो होइन ?’

 

Ads

सम्बन्धित पोष्टहरू