सिराह । मदन भण्डारी स्मृति गोल्ड कप २०७८ को उपाधि शैलेश युवा क्लब सिराहले हात पारेको छ । अखील नेपाल फुटवल संघ सप्तरीको आयोजनामा फत्तेपुरमा सम्पन्न खेलमा शैलेश युवा क्लब सिराहले गाइघाट युवा कलब उदयपुरलाई ३ का विरुद्ध शुन्य गोलले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
विजेता टिमले नगद २ लाख रुपैया र शील्ड प्राप्त गरे । उपविजेताले एक लाख रुपैयामा भित्त बुझाए । बेष्ट प्लेयर अफ टुर्नामेन्ट सिराह क्लबका जनक कार्की र बेष्ट गोल किपर सिराहकै निश्चल मोक्तानले हात पारे । प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको संसदीय कोषबाट प्राप्त गरेको रकमबाट खेल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता समापन समारोह स्पोटर्स क्लबका अध्यक्ष ध्रुब आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष आचार्यले युवा सशक्तिकरण र अनुशाशनको मानक भएको बताउनुभयो ।
उहाले खेल प्रतियोगिताहरु आयोजना गर्दा खेलको विकास, व्यवसायिकरण मात्र नभइ युवामा स्वच्छ प्रतिश्पर्धा गर्ने बानीको विकास हुने जनाउनुभयो । मदनभण्डारीको विचारबाट प्रभावित भएर खेलकुदको विकास गर्न मदन भण्डारी स्पोटर्स एकेडेमीको स्थापना भएको बताउदै उहाले अब एकेडेमीलाई ७७ जिल्ला र त्यसका ७ सय ५३ वटै स्थानीय तहमा पुर्याउने बताउनुभयो ।
त्यसमार्फत बालबालिकादेखि युवालाई मिल्ने खालका सबै खेलविधाका प्रशिक्षण चलाउने उहाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी प्रदेश सभा सदस्य सत्यनारायण मण्डलले युवाको सशक्तिकरण र अनुशाशनकालागि खेलको ठूलो महत्व हुने भएकाले संसद विकास कोषको रकम यता लगाएको बताउनुभयो ।
मदन भण्डारी स्पोटर्स एकेडेमीका सचिव तथा स्वास्थ्य एवं विदेश विभाग प्रमुख डा. शक्ति बस्नेतले असल स्वास्थ्यका लागि पनि खेल अपरिहार्य रहेको बताउनुभयो । समारोहमा एकेडेमीका कार्यालय सचिव विनोद आचार्य, केन्द्रीय सदस्य सुभाष चौधरी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्