राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए परिवर्तन सम्भव छ भन्ने कुराको गतिलो उदाहरण प्रस्तुत गर्ने मुलुकका केही स्थानीय तहमध्ये रूपन्देहीको तिलोत्तमा नगरपालिका पनि एक हो । नगरपालिका बनेको छोटो अवधिमा यो नगरपालिकामा सहरी विकासका कामहरू योजनाबद्ध ढङ्गले अघि बढेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित बासुदेव घिमिरे नेतृत्वको टीमले तिलोत्तमाबासीमा आशा र भरोसा दिलाउन मात्र होइन तिलोत्तमालाई रोलमोडल नगर बनाउन सफल भएको छ । काम गर्ने फरक तरिका, दीर्घकालीन सोंच, दृढ इच्छाशक्तिको कारण तिलोत्तमा आज मुलुकको नमूना नगरपालिका बन्न सफल भएको छ ।
लगातार दुई पटक उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत हुनुले तिलोत्तमाले भौतिक तथा सामाजिक विकास, सुशासन, सेवा प्रवाहमा गरेको प्रगतिलाई छर्लंङ पार्दछ । पुराना कैयौं नगरपालिकालाई पछि पार्दै तिलोत्तमाले प्राप्त गरेको यो पुरस्कारले यहाँका जनप्रतिनिधिहरूको कामप्रति लगाव, सेवाभाव, विकासप्रतिको दृष्टिकोणलाई उजागर गरेको छ । २०७७ मा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र २०७८ मा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गर्नुभएको छ ।
राजनीति सँगसँगै विभिन्न सामाजिक संघ संस्था, व्यवसायिक प्रतिष्ठानको नेतृत्व गरेका बासुदेव घिमिरेमा नगर प्रमुख नहुँदै कर्मचारी परिचालन, जनपरिचालन, समन्वय, सहकार्यको राम्रो ज्ञान थियो । यहीँ ज्ञानलाई उहाँले सम्पूर्ण रूपमा नगरपालिकाको सर्वोपरि हितमा लगाउनुभयो । उहाँले नगर प्रमुखको नेतृत्व पाएर पदस्थापन गरेलगत्तै आफ्नो सम्पूर्ण समय नगरपालिकाको काममा लगाउने उद्घोष मात्र गरेनन्, प्रदेश सरकारले जनप्रतिनिधिहरूलाई सुविधा उपलब्ध गराउने कानुन ल्याएपछि आफूले पाउने सम्पूर्ण पारिश्रमिक रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा लगाउनुभयो ।
नेतृत्वमा रहेको व्यक्ति जनसेवामा दिनरात क्रियाशील हुने, कामको नियमित फ्लो गर्ने, नगरको विकासमा चिन्तनशील हुने भएपछि उहाँको टीम पनि सोही अनुसार अघि बढ्यो । उपमेयरसहित १७ वडामध्ये १३ वडामा एमालेकै जनप्रतिनिधि भएकाले पनि उहाँका हरेक योजना र काममा सिङ्गो कार्यपालिका, नगरसभा एकठाउँमा उभियो । सबै जनप्रतिनिधिले नगर प्रमुखको भिजनलाई साथ दिए । यसैले त उहाँको टीम यो अवधिमा तिलोत्तमालाई विकासको पथमा लैजाने एउटा स्पष्ट मार्गचित्र दिन सफल भएको छ । नगरपालिकाको भिजन र मिसनलाई नगरका सबै राजनीतिक दल, संघ संस्था, क्लव, आमा समूह, सञ्चारकर्मी, टोल विकास संस्थालगायत सबै नगरबासीले साथ दिए । विकास निर्माण, सामाजिक परिवर्तनका कैयौं कार्यक्रममा सम्पूर्ण नगरबासीलाई एकताबद्ध रूपमा अघि बढाउन बासुदेव घिमिरे र उहाँको टीम सफल रह्यो । यसले नेतृत्वले असल काम गर्दा सबैको साथ, सहयोग रहन्छ भन्ने कुरालाई पनि उजागर गरेको छ ।
असल अभ्यास र फरक कामको कारण नयाँ नगरपालिका भए पनि तिलोत्तमा अरूको लागि सिकाइको केन्द्र बनेको छ । यहाँ यो अवधिमा दुई दर्जन भन्दा बढी स्थानीय तहका प्रतिनिधिहरूले अवलोकन भ्रमण गरेका छन् । तिलोत्तमाले अघि सारेका कतिपय कार्यक्रम राष्ट्रिय कार्यक्रम समेत भएका छन् । आसपासका पालिकाहरू तिलोत्तमाका असल अभ्यासबाट सिकाइ गर्दै त्यसलाई अघि बढाउने गरेका छन् । यहीँ कारण तिलोत्तमाले स्थानीय स्तरमा मात्र होइन, राष्ट्रियस्तरमै आफ्नो पहिचान बनाउन सफल बन्यो ।
वाचाअनुसारको काम
नयाँ नगरपालिका भएकाले मानवीय तथा भौतिक स्रोत–साधनको कमीलगायतका तमाम समस्या र चुनौतीबाट माथि उठेर जनप्रतिनिधिहरूले यसबीचमा जति काम गर्नुभयो, ती कामले नगरबासीको परिवर्तनप्रतिको तीव्र चाहनालाई सम्बोधन गर्न सकेको छ । जनप्रतिनिधि आइसकेपछि यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रूपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक कामहरू भैसकेका छन् भने कतिपय हुने क्रममा छन् ।
‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर; सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने दीर्घकालीन सोंचका साथ पाँचवर्षको आवधिक र १५ वर्षको रणनीतिक योजना निर्माण गरेर यहाँ भौतिक तथा सामाजिक विकासका कामहरू योजनाबद्ध रूपमा अघि बढेका छन् ।
कानुन बनाउने, लगानी सम्मेलन गर्ने पहिलो पालिका
तिलोत्तमा नगरपालिका स्थानीय कानुन निर्माण गर्ने नेपालको पहिलो स्थानीय तह हो । तिलोत्तमा नगरपालिकाले काठमाडौं बाहिर पहिलो पटक ऐतिहासिक तिलोत्तमा लगानी सम्मेलन गर्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पहिलो नगरपालिका
तिलोत्तमा नगरपालिका मुलुकको पहिलो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ । कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी युनाइटेड एग्रिडेशन फाउण्डेशन (युएएफ) अमेरिकाले नगरपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको छ ।
सामुदायिक विद्यालयको गुणस्तरमा उल्लेख्य सुधार, बालमैत्री नगरपालिका
जनप्रतिनिधि आइसकेपछि तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन अघि बढाइएका कार्यक्रमबाट आशालाग्दो नतिजा आउन थालेको छ । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि हुँदा विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सुरुका दिनहरूमा नगरपालिकाको आर्थिक स्रोतबाट बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन २५ रूपैंयाँ बराबरको दिवा खाजाको व्यवस्था गरिएकोमा हाल दिवा खाजा संघीय सरकारको कार्यक्रममा समावेश भएको छ । तिलोत्तमाले सुरू गरेको कार्यक्रम संघीय सरकारको कार्यक्रममा पर्नुले यहाँका जनप्रतिनिधहरूले असल अभ्यास गरेको तथ्यलाई पुष्टि गरेको छ ।
यहाँका सबै सामुदायिक विद्यालयहरूमा एकै प्रकारको रंगरोगन गरी चिटिक्क पारिएको छ । विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ भने दरबन्दी कम रहेका विद्यालयमा अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरिएको छ ।
नगर प्रमुख बासुदेव घिमिरेले आफूले जनप्रतिनिधिको रूपमा प्राप्त गर्ने रकमबाट नगर प्रमुख छात्रवृत्ति कोष स्थापना गरी हरेक वर्ष सबै सामुदायिक विद्यालयका १÷१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आउनु भएको छ । सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएकोमा हाल यो कार्यक्रम संघीय सरकारको कार्यक्रममा परेको छ ।
नगरपालिकाबाट अनुदान प्राप्त गरेसँगै यहाँका सामुदायिक विद्यालयले बस सञ्चालन गरेका छन् । सबै विद्यालयमा स्तरीय बाल विकास कक्षा व्यवस्थापन गरिएको छ । सामुदायिक विद्यालयमा विद्यालय–नर्स कार्यक्रम सञ्चालन गरिएपछि विद्यार्थीको प्राथमिक उपचार विद्यालयमै हुने गरेको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयको भवन, शौचालय, फूलबारी, खानेपानी, सूचना प्रविधि, कम्पाउण्डलगायत पूर्वाधार निर्माण, शिक्षकहरूलाई तालिम, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणलगायतका क्षेत्रमा ठूलो रकम लगानी गरिसकेको छ ।
वर्षौंदेखि न्यून विद्यार्थी भएका विद्यालयहरू मर्ज गर्दै लामो समयदेखि हुन नसकेको शिक्षक दरबन्दी मिलान गरिएको छ । वडा नं. १४ मा सिटी कलेज सञ्चालनको लागि भवन निर्माण भएको छ भने सम्बन्धनको लागि सिटीइभिटीसँग पहल भैरहेको छ । नगरलाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ ।
शैक्षिक सुधारका कार्यक्रमहरूले तिलोत्तमाको शिक्षा प्रणालीमा व्यापक सुधार आएको छ । सामुदायिक र संस्थागत विद्यालय बीचको दुरी समान गर्ने जनप्रतिनिधिहरूको सपना साकार हुँदै गएको छ ।
सबै वडामा स्वास्थ्य संस्था, दुई नगर अस्पताल निर्माणको क्रममा
सबै नगरबासीमा आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई स्थापित गराउन हरेक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना भएका छन् । कोरोना महामारी नियन्त्रणमा निकै प्रभावकारी काम गरेर प्रशंसा बटुलेको यस नगरपालिकाले लकडाउनको बेला नगरबासीलाई राहत वितरण, क्वारेन्टाइन, आइसोलेशन सेन्टर व्यवस्थापन गर्दै हाल वडा नं. ९ केवलानीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेको छ । १२ वर्षमाथिका सबै नगरबासीलाई कोरोना विरुद्धको खोप लगाउने तिलोत्तमा मुलुककै पहिलो स्थानी तह बनेको छ ।
सेमराबजार स्वास्थ्य चौकी, आनन्दवन स्वास्थ्य चौकी र बीपी ग्राममा कम्तिमा १५ बेडको अस्पताल निर्माण गर्ने योजनाअनुरूप आनन्दवन र बीपी ग्राममा भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । सेमराबजार स्वास्थ्य चौकीलाई जग्गाको स्वामित्व प्राप्त भएको छ ।
नगरबासीले रक्तसञ्चार सेवा केन्द्रबाट रगत लिएमा वार्षिक २५ पोका बराबरको शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाइएको छ । नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई प्रोत्साहन भत्ता, गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्यालसियम चक्कीका साथै गर्भवती र सुनौलो हजार दिनका बालबालिकाको पोषणमा सुधार ल्याउन सुत्केरीसँग उप–मेयर कार्यक्रम सञ्चालन गरिएको छ ।
आन्तरिक स्रोतमा चिकित्सक नियुक्त गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएको छ भने सबै स्वास्थ्य संस्थामा सुविधासम्पन्न वातानुकुलित खोप केन्द्र निर्माण कार्य अघि बढेको छ । ७० वर्षमाथिका नगरबासीलाई घर–घरमै पुगी स्वास्थ्य परीक्षण गर्नुको साथै औषधि वितरण गरिएको छ ।
किसानलाई अनुदानै अनुदान, जग्गा बाँझो राख्न नपाइने
कृषिको लागत घटाइ कृषि कार्यमा नयाँ पुस्तालाई समेत आकर्षित गर्ने नीतिअनुरूप नगरपालिकाले कृषि उत्पादकत्व वृद्धिका लागि बिउबिजन, कृषि औजार, फलफूलका विरुवामा अनुदान दिँदै आएको छ । अनुदानलाई साना किसानको पहुँचमा पुर्याउन दुग्ध उत्पादक किसानलाई प्रति लिटर दूधमा एकरूपैयाँ अनुदान दिने गरिएको छ ।
पशुपालक किसानले व्यहोर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिइएको छ । गौशालामा थप पूर्वाधार निर्माण गर्दै सामुदायिक वनहरूलाई तारबार गर्न आर्थिक सहयोग गरिएपछि छाडा चौपायाको व्यवस्थापन हुँदा किसानलाई ठूलो राहत मिलेको छ । पशु सेवा केन्द्रको विस्तार गरिनुको साथैं नगरपालिकाले आन्तरिक स्रोतमा कृषि तथा पशु प्राविधिकहरू नियुक्त गरेर किसानलाई सेवा दिँदै आएको छ ।
प्राकृतिक विपत्तिबाट कृषि उपज तथा पशुपालन व्यवसायमा हुने हानी नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न बनाइएको “बाली संरक्षण कोष” ले किसानलाई राहत मिलेको छ । कृषियोग्य जमिनको खण्डिकरण रोक्न भू–उपयोग योजना कार्यान्वयन गर्दै भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरी करार खेती, सहकारी खेती र सामूहिक खेती गर्न नगरबासीलाई उत्प्रेरित गरिएको छ । खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नगरपालिकाको नीतिले वर्षौंदेखि बाँझो रहेका जग्गामा खेती गर्ने संस्कारको विकास भएको छ ।
भौतिक पूर्वाधारमा उल्लेख्य फड्को
जनप्रतिनिधि आउँदा नगरपालिकाको आफ्नो भवन थिएन । भाडाको घरमा नगरपालिका चलेको थियो । प्रशासनिक भवन कहाँ बनाउने भन्ने अन्यौल थियो । तर, नगरपालिकाको नेतृत्वले सर्वसम्मत निर्णय गरी वडा नं. ६ को कुञ्जलापुरमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । वन वाटिकामा नगरपालिकालाई नियमित आम्दानी हुने गरी होटल समेत सञ्चालन गर्नेगरी बहुउद्देश्यीय भ्यूटावर निर्माण गरिएको छ । केवलानीमा निर्माण गरिएको अतिथि गृह तथा सभाहलमा हाल अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेको छ ।
साविकका गाविस कार्यालय रहेका वडा कार्यालयहरू व्यवस्थित बनाइएको छ भने अन्य सबै वडामा सेवाग्राहीमैत्री नयाँ वडा कार्यालय भवन बनाइएको छ । कुञ्ज पार्क, तिलोत्तमा पार्क, हरियाली पार्क, बेबरी पार्क, वनवाटिका, बाउन्नकोटी लगायतका थुप्रै साना–ठूला पार्कहरूलाई व्यवस्थित बनाइएको छ ।
जनप्रतिनिधि आएपछि नगरमा खानेपानी तथा सिंचाई बोरिङ, घाट तथा किरियापुत्री घर, विद्युत पोल, ह्युम पाइप, ढल निकास तथा नाली निर्माण, सामुदायिक भवन, खेलमैदान, कवर्डहल, सार्वजनिक शौचालयहरू नयाँ निर्माण तथा पुराना संरचनाहरू स्तरोन्नती भएका छन् । यो अवधिमा पाँचसय किलोमिटर नयाँ तथा पुरानो सडक कालोपत्रे गरिएको छ । सोहीअनुपातमा सडक ग्राभेल गरिएको छ । खरको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनी ल्याउने काम पनि भएको छ । तिलोत्तमा रिङ्ग रोड निर्माण तथा स्तरोन्नतीको कार्य अघि बढेको छ ।
व्यवसायिक सीप विकास तालीम सञ्चालन गरिएपछि कैयौं नगरबासी साना तथा मझौला व्यवसाय सुरू गरी आत्मनिर्भरको बाटोमा अघि बढ्नुभएको छ । काम गर्ने चाहना भएकाहरूलाई विनाधितो ऋण दिइएको छ । साना उद्योग स्थापनालाई प्रवद्र्धन गर्न वडा नं. १० मा तिलोत्तमा औद्योगिक ग्राम निर्माण अघि बढेको छ ।
मुलुककै पहिलो पूर्णसरसफाई उन्मुख पालिका
नगरपालिकाले प्राथमिकता दिएको “ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा” अभियानले नगरलाई सफा बनाएको छ । जनप्रतिनिधि आएसँगै यहाँ सुरू भएको सरसफाई अभियानले तिलोत्तमालाई मुलुककै पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । हरेक महिनाको १ र १५ गते नगरस्तरीय नियमित सरसफाई अभियानमा नगर प्रमुख, उपप्रमुख आफै सहभागी हुँदै आउनु भएको छ भने टोल विकास संस्थामार्फत् समुदायमा आधारित नियमित सरसफाई हुँदै आएको छ । घर, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, सार्वजनिक निकायबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्ने संयन्त्रको विकास गरिएको छ ।
योगिकुटी–कोटिहवा सिक्सलेन सडक र बुद्ध सर्किटमा समुदायसँग मिलेर हरियाली प्रवद्र्धन गरिएसँगै नगरको मुहार नै फेरिएको छ । वास सहकारीसँगको सहकार्यमा सुखौरा खोलाको उकास क्षेत्रमा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरिएको छ । स्थानीय पाठ्यक्रममार्फत् बालबालिकालाई माई पकेट ः माई फष्ट डष्टबिनमा अभ्यस्त बनाउने अभियान चलाइएको छ । यो अवधारणाले आजका बालबालिका भोलि ठूला हुँदा फोहोर जथाभावी नफाली तोकिएको ठाउँमा मात्र फाल्दा नगर अझै सफा हुनेछ ।
नगरमा उद्यमशीलताको विकासका लागि विभिन्न किसिमका सीपमूलक तालीम सञ्चालन गरिएको छ । कोरोना महामारीको क्रममा नगरपालिका, युएनडीपी र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारीसँगको सहकार्यमा आलु बीऊ वृद्धि कार्यक्रम सञ्चालन गरी नगरलाई आलुमा आत्मनिर्भर बनाइएको छ ।
नगर प्रमुख दायित्व युवा उद्यमी परिचालन कोष स्थापना गरी युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाले युवाहरूको साहस, सिर्जनशीलता, आत्मविश्वास, उद्यमशीलताको उच्च मूल्याङ्कन गदै शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्तिलाई नगरको मानवीय पूँजीको रूपमा लिएको छ ।
नगरमा पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामहरू भैरहेका छन् । हरेक वडामा एउटा पार्क बनाउने गरी काम भैरहेको छ । सिक्सलेन सडकमा बुद्धमूर्ति राखिएको छ, वडा नं. १३ को सेमरीमा होमस्टे सञ्चालनमा आएको छ ।
डिजिटलमैत्री नगरपालिका
नगरपालिकामा सूचना, सञ्चार र प्रविधिमा उल्लेख्य काम भएका छन् । यसबाट नगरबासीले घरबाटै कर भुक्तानीदेखि सिफारिस लिनेसम्मका काम गर्न मिल्छ । नगरले विपद् पूर्वतयारी, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण लगायतका विषयहरूलाई समेटी विपद् प्रतिकार्य योजना निर्माण गरेको छ । विपद् पीडितलाई तत्काल राहत दिन “नगर प्रमुख विपद् व्यवस्थापन कोष” स्थापना गरिएको छ । आगलागीका घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न दमकल सेवा सञ्चालनमा ल्याइएको छ ।
नगरपालिकाले एकल महिलाको नाममा सञ्चालित व्यवसाय कर र सम्पत्ती करमा १५ प्रतिशत छुट उपलब्ध गराइएको छ । लैङ्गिकमैत्री नगरपालिका घोषणा कार्ययोजना अनुसार कार्यक्रम सञ्चालन गरिएको छ । मधेसी, पिछडा वर्ग, अल्पसंख्यक, मुस्लिम समुदाय, दलित, आदिबासी जनजाती, तेस्रोलिङ्गीलगायत विकासको मूलप्रवाहमा आउन नसकेका वर्ग समुदाय र क्षेत्रलाई नगरको विकासको मूल प्रवाहमा ल्याउन सामाजिक सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
न्यायिक समितिले प्रभावकारी कार्यसम्पादन गर्दा निमुखा, विपन्न, तल्लो तहका नगरबासीको न्यायमा पहुँच स्थापित भएको छ । सानातिना वादविवाद, झै–झगडा मेलमिलापकर्ताहरूले मिलाउने अभ्यास सुरू गरिएको छ ।
नगरपालिका घोषणा हुनुपूर्वका पुराना घरहरू नक्सा प्रक्रियामा नआइरहेको सन्दर्भमा जनप्रतिनिधिहरूको आगमनपछि वडा वडामा शिविर चलाएर पुराना घरहरूलाई नक्सा प्रक्रियामा ल्याइएको छ । घरनक्सा पासलाई अनलाइन सिष्टममा लगिएपछि नगरबासीलाई सेवा लिन सहज भएको छ । वडा नं. १४ मा प्रादेशिक स्तरको बस टर्मिनल बनाउन डिपिआर निर्माण भएको छ । सोही वडामा अटोजोनको प्रस्ताव गरिएको छ ।
नीतिगत निर्णय र अभियानले ल्याएको परिवर्तन
राष्ट्रिय स्तरमा तिलोत्तमालाई परिचित गराउन नीतिगत निर्णयहरूले समेत काम गरेका छन् । जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई गरिएको आह्वानले हरियाली प्रवद्र्धनमा टेवा पुगेको छ । सार्वजनिक महत्वका कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याज निषेध गरिएसँगै नगरमा पुष्पखेती फष्टाउँदै गएको छ । सार्वजनिक महत्वका कार्यक्रमहरू तोकिएकैं समयमा सुरु गर्नुपर्ने निर्देशिकाले नगरबासीमा समयको महत्वलाई बुझाएको छ ।
नगरका मुख्य सडकहरूको राइट अफ वे निर्धारण गरिएसँगै सडक फराकिला हुने आधार निर्माण भएको छ ।
नगरको बस्तुगत विवरण संकलन गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण गर्न जग्गा नापचाँज, तारबार समेतका काम भएका छन् । नगरको स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाइएको छ भने एकीकृत बस्ती विकासको लागि ल्याण्ड पुलिङको अवधारणा ल्याइएको छ ।
नदीजन्य पैदावारको अवैध उत्खननमा रोक्न नियमित अनुगमन गरिँदा यसबाट आन्तरिक आयमा उल्लेख्य वृद्धि भएको छ । प्रमुख प्रशासनिक कार्यालय परिसरमैं बैंकको काउन्टर स्थापना गरी नगरपालिका कार्यालयलाई क्यासलेस बनाइएको छ ।
नगरको गान र लोगो निर्माण गरी नगरबासीलाई आफ्नो नगरप्रतिको एकताबद्ध गराइएको छ । यो नगरले आफ्नै स्रोतमा प्रदेशकै पहिलो पटक ट्राफिक लाइट व्यवस्थापन समेत गरेको छ ।-नवयुगबाट
प्रतिक्रिया दिनुहोस्