काठमाडौ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार आज नेपाल आउँदै छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनि नेपाल आउन लागेका हुन ।
तीनदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।
त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
यस्तै नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।
भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ।
महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी वैशाख १० गते नेपालबाट फर्किने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्