रेनुका गिरी
महिलाहरु आफु आत्मनिर्भर हुन विभिन्न क्षेत्रमा कामहरु गर्दै आइरहेका छन् । विभिन्न सीपमुलक तालिमहरुमा सिलाइबुनाई पार्लर, कृषिमा हुने तरकारी खेती, फलफुल तथा उधोगहरुमा पनि सकृय भइरहेका छन् । उनीहरुको यस्तो सफलतामा सहकारीको सुविधा मुख्य कारण बनेको हो ।
महिला आर्थिक रुपमा आत्मनिर्भर हुने एउटा स्रोत सहकारी संस्था पनि एक हो । सहकारीमा महिलाहरुले आफ्नो केही रकम वचत गरेर, सानो तिनो खर्च चलाएर उल्लेख्य उपलब्धि गरिरहेका छन् । सामान्य घर खर्च चलाउनको लागि श्रीमान वा परिवारका सदस्यको कमाईमा आश्रित हुन नपरोस भनेर उनीहरु सिपमुलक तालिम लिएर काम गरिरहेका छन् । सहकारीबाट ऋण लिएर लगानी लगाउन पाउँदा उनीहरु अति खुसी र सन्तुष्ट छन् ।
उदाहरण हेरौं रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ मा रहेको सामूहिक सहकारी र त्यसका माध्ययमबाट उल्लेख्य उन्नती गरेका पात्रहरुलाई ।
तिलोत्तमा नगरपालिका वडा नं. १ कि पार्बती गिरीले सहकारीबाट अचार तालिम लिएपछि उद्यमी बन्नु भएको छ । तीन वर्ष अगाडी समुहमा सानो पूँजी लगानिमा तिलोत्तमा नगरपालीका वडा नं. ३ मा सुरु भएको लकासी अचार उद्योग अहिले बिस्तार भएको छ । अहिले उक्त उद्योग उहाँ एक्लैनै सम्हाल्नु भएको छ ।
घरैबाट सुरु गरेको अचार उद्योगले उहाँको दैनिकी मात्र बदलेको छैन, आर्थिक समृद्धि समेत ल्याएको छ । सहकारीको सहयोगबाटै उहाँले आफैं आत्मनिर्भरताको बाटो रोज्नुभयो र उद्योगी बन्नुभयो ।
तालिमपछि सहकारीबाट ब्याजमा लिएको २ लाख रुपैयाँबाट सुरु गरेको अचार उद्योगमा सुरुमा सबै काम आफैंले गरेको उहाँ सुनाउँनुहुन्छ । “सुरुमा त डर पनि थियो, अचार बिक्ला कि नबिक्ला, लगानी नै पो डुब्ने हो कि भन्ने,” उहाँले अनुभव सुनाउनुभयो “तर जति उत्पादन गरे पनि भने अनुसारको माग धान्नै गाह्रो छ, । मासिक ३० देखी ४० हजारसम्म आम्दानी गर्ने उहाँले पछिल्ला समयमा विभिन्न मेला महोत्सवमा राख्ने गर्नु भएको छ । ”
सरकारी अनुमति तथा खाद्य परीक्षणबाट समेत इजाजत लिएर उत्पादन गरेको अचारले बजारका अन्य अचारसँग प्रतिस्पर्धा गर्नुपरेको त छँदैछ भारतबाट आयातीत गुणस्तरहीन अचारले बजार चुनौती बढेको दुखेसो उहाँले गर्नुभयो । उहाँ भन्नुहुन्छ “बजारमा पाइने अचार कतिपय खान योग्य हुँदैनन् तर सरकारी निकाय मौन छ ।” सरकारी निकायले अचार उद्योगको गुणस्तरबारे आवश्यक निगरानी गर्नुपर्ने उद्यमी गिरीको सुझाव छ । “अचारको गुणस्तरबारे उपभोक्तासमेत चनाखो हुनुपर्छ, ।” उहाँले भन्नुभयो ।
अर्की उदाहरण हुनुहुन्छ,तिलोत्तमा नगरपालीका वडा नंं. २ की उषा खाँण । उहाँलाई जब आफ्नो सहकारीले बार्षिक साधारण सभामा उत्कृष्ठ महिला उद्यमि भनेर सम्मान गर्यो, त्यती बेला उहाँका आँखाबाट आँसु बर्रर झरे ।
सामूहिक सहकारीबाट सामान्य तालिम लिएर थोरै मात्र लगानी गरेर आफ्नो जनजिवीका चलाउनु भएकी उहाँले पछिल्ला समयमा महिलाहरुलाई तालिम समेत दिदैँ आउनु भएको छ ।
सहकारीबाट ८० हजार लगानी गरेर सुरु गर्नु भएको उहाँको सिलाईकटाई ब्यवसायबाट जीवनमा परिवर्तन आएको छ । तिलोत्तमा नगरपालिका २ मा रहेको उहाँको पसलमा अहिले सिलाइ कटाई सिक्न आउनेको भिड लाग्दछ । करिब तीन वर्ष पहिलेै सिलाइ पसल गरेकी उनी अहिले आएर ब्यवसायीक ढङ्गले पसल सञ्चालन गरेकि छिन् । उहाँ भन्नुहुन्छ सहकारीले हामिलाई समाजमा प्रतिष्ठित बनाएको छ । समाजमा खुलेर अगाडी बढने प्रेरणा दिएको छ ।
मासिक ३० हजार कमाउने उहाँ सिलाई सिकाउने, कपडा ब्यवसाय ,अर्डर अनुसारका लेडिज सामान तयार पार्ने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “समाजमा महिलाहरु घरको काममा मात्र सीमित हुनुपर्दछ भन्ने मान्यता थियो, तर पछिल्लो समयमा सहकारीले महिलामा गरेको लगानि तालिमले परिर्वतन देखिन थालेको छ ।”
तिलोत्तमा नगरपालीका वडा नं. ३ की प्रतिमा पन्थ आफैँले चुरा बनाएर बिक्री गरी आत्मनिर्भर बन्नु भएको छ । सामूहिक सहकारीले महिलालाई आत्मनिर्भर बनाउन दिएको तालीम लिएकी प्रतिमाले घरमै बनाएको चुरा बेचेर राम्रो आम्दानी गर्दै आउनु भएको हो । उहाँले बनाएका चुराको माग स्थानीयस्तरमै धेरै छ । बजारको कमि छैन । माग अनुसारको बजार धान्न नसकेको उहाँ सुनाउनुहुन्छ ।
सहकारीबाट तालिम लिएपछि २ हजार रुपैयाबाट सुरु गरेको उहाँको ब्यवसायमा २ जना सहयोगी छन् । सामान्य पुँजीमा लगानि गरेर उत्पादन गर्न सके आम्दानि बढी हुने उहाँ बताउनुहुन्छ । उहाँको ब्यवसायमा क्रिष्टलका माला, चुरा, औठी, कम्मर बेल्ट, साडी पिन, ब्यग साथै मखमलका जुत्ता, टाका लगायतका सामाग्री बन्ने गर्दछन् ।
१३ वर्ष अगाडी श्रीमानको मृत्युपछि घरखर्च चलाउन धौ धौ को समस्या धानेकी उहाँ अहिले २ छोराछोरीको पढाई लेखाई घरखर्च राम्रोसंग चलेको बताउनुहुन्छ । महीनामा कम्तीमा उहाँ २५÷३० हजार आम्दानि हुने उहाँ बताउनुहुन्छ । प्रतिमा भन्नुहुन्छ “सहकारीले तालीम दिएपछि यस कामबाट राम्रै कमाई भएको छ, घरखर्च चलेको छ, आफ्नै काम भएकाले मन लागेको बेला र बिहान–बेलुका फुर्सदमा जुनसुकै बेला पनि गर्न सकिन्छ । सहकारीले लगानी गर्दै, सीप सिकाएर महिलालाई आर्थिक रुपमा सशक्त बनाएको छ । ”
तिलोत्तमा गोरकट्टाकी सिता पाण्डेले सामूहिक सहकारीबाटै ऋण लिएर ग्याँस सप्लार्यर चलाउँदै आउनुभएको छ । पैसाका निम्ति सधँै श्रीमानको भर पर्नुभन्दा आफँै उद्यमी बन्ने साेंच राखेर व्यवसाय सञ्चालन गरेको उहाँले बताउनुभयो ।
उहाँले सुरुमा सहकारीबाट ३० हजार लगानीबाट सुरु गर्नु भएको ब्यवसायले अहिले ठुलो हिस्सा ओगटेको छ । उहाँले ग्याँस सप्लायर्स मार्फत १७÷१८ लाखसम्म मार्फत कारोबार गरेको सुनाउनुहुन्छ ।
उहाँले भन्नुभयो “एउटा सानो पसललाई व्यवसायिक रुपमा लैजान सकिने कुरा सहकारीले सिकायो ।”
उहाँ अन्य महिला दिदी बहिनीलाई फुर्सदको समयमा केही सीप सिके भोलि आम्दानीका बाटोहरु प्रशस्त हुने बताउनुहुन्छ । सहकारीमा राम्रोसंग कारोबार गरेकाले सहकारीले पनि उच्च मुल्याङ्कनमा राखेको छ ।
उहाँ भन्नुहुन्छ “जिन्दगीमा सफल हुनको लागि आफू आत्मनिर्भर हुन जरुरी रहेछ । आफु आत्मनिर्भर भए एक्लै पनि सहज तरिकाले जिउन सकिन्छ । अर्काको भरमा बाँच्न खोज्नेहरु कहिल्यै खुसी हुन सक्दैनन् । ”
प्रतिक्रिया दिनुहोस्