काठमाडौं । सरल बैंँकिङ सेवा पाउने गरी सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक बीच बुधबार सम्झौता भएको छ ।
उक्त सम्झौतासँगै ससस्त्र प्रहरीले तलबी बचत खाता तथा सरल कर्जा सुविधालगायत विविध बैंकिङ्ग सुविधा प्राप्त गर्ने छन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
त्यसअवसरमा महानिरीक्षक केसीले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गर्दै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताए।
सम्झौता अनुसार सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकले पाउने तलब भत्ता तथा आर्थिक सुविधा अनिवार्य रुपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने र सशस्त्र प्रहरी कर्मचारीले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाख सम्मको ऋण सुविधा पाउनुकासाथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको अध्यक्षतामा यही वैशाख १३ गते बसेको परामर्श समितिको बैठकले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहुलियतमा कर्जा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंकसँग पारस्परिक सम्झौता गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा सो बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको विविध पक्षबारे जानकारी गराउँदै सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको उल्लेख गर्नुहुँदै सो बैंक करीव ५५ वर्षदेखि नागरिकको सेवामा समर्पित रहेको बताए ।
प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्