कञ्चनपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।
राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ ।
यहाँको भीमदत्त नगरपालिकामा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका महेशप्रसाद पन्त र उपप्रमुख पदका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।
त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुखको साझा उम्मेदवार बनेका राजेन्द्र पाण्डेय र उपप्रमुख कृष्णदत्त जोशीले पनि टोलस्तरसम्म पुगेर भोट मागिरहेका छन् । त्यसैगरी नेपाली काँग्रेसले भीमदत्त नगरपालिका–१ स्थित रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम अभियान शुभारम्भ गर्दैछ ।
“बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टिम सहभागी हुनेछ,” नेपाली कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भने, “यहाँ वडा वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेका छन् ।
त्यसैगरी यहाँका अन्य स्थानीय तहलमा पनि नेताले घरदैलो अभियान सुरु गरेका छन् ।
बेलौरी नगरपालिका, पुर्नवास नगरपालिकालगायतका पालिका पालिकामा समेत घरदैलो अभियान सुरु गरेका छन् । नेकपा एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले पार्टीका उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमा खटिसकेको जानकारी दिइन् ।
निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्