Ads

महिला उम्मेदवार : एमाले पहिलो,कांग्रेस पाँचौँ


काठमाडौं ।  नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेर

पहिलो राजनीति दल भएको छ ।

देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीति दल भएको हो ।

३० वैशाखमा हुने निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रूपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

यसै गरी, निर्वाचन आयोगका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र )ले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा प्रमुखका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

सोही पार्टीले गाउँपालिका अध्यक्षमा ४२ जना महिलालाई स्थान दिएको छ । राप्रपा महिला उम्मेदवार बढी बनाउनेमा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ ।

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एस०ले १ सय २८ जना प्रमुखमा उम्मेदवारी दिँदा २३ जना महिलालाई उम्मेदवार बनाएको छ । १ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ । नेकपा (एस) ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।

सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।

महिलालाई उम्मेदवार बनाउने दलमा कांग्रेस चौथौँ स्थानमा सीमित हुन पुगेको छ । कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।

Ads

सम्बन्धित पोष्टहरू