प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसकेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित क मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको मध्यबानेश्वमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
उपराष्ट्रपतिले मतदान नगर्ने
उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएकाछन् । उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन् । उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्