Ads

उपेन्द्र–बाबुराम सहमतिमै आ–आफ्नो बाटोमा


काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किएकै बेला दुई नेता आ–आफ्नो बाटो लाग्न राजी भएका छन् ।  बुधबार सिंहदरबारमा भएको दुई नेताबीचको वार्ताका क्रममा आ–आफ्नो बाटो लाग्ने सहमति बनेको हो ।

छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने धारणा राखेका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए ।  त्यसमा यादवले सहमति जनाएको जसपा स्रोतले बतायो ।

भट्टराईले तत्कालीन नयाँ शक्ति लिएर जसरी संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए, त्यसरी नै अलग हुने धारणा यादव समक्ष राखेका थिए । अध्यक्ष भट्टराईसँग कोको जाने भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।  त्यो कुरा बाबुरामले पनि यादवसँगको भेटमा विस्तृतमा खुलाएका छैनन्

जसपाका कार्यकारिणी सदस्य गज्जाधर यादवले भट्टराईले सौहार्दपूर्ण वातावरणमा जसपाबाट अलग हुन चाहेको बताए । ‘बाबुरामजीले सौहर्दपूर्ण वातावरणमा जसपाबाट अलग हुन चाहनु भएको छ, यो कुरा उहाँले उपेन्द्र यादवजीसँग पनि राखि सक्नु भएको छ’, उनले भने, ‘उपेन्द्र यादवले पनि हुन्छ भनिसक्नु भएको छ, सायद बाबुरामजी त्यसको तयारीमा लाग्नु भएको छ ।’

Ads

सम्बन्धित पोष्टहरू