काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै जनताको माया पाएको पार्टीलाई आफ्नै नेताबाट जोगाउन गाह्रो परेको टिप्पणी गरेका छन् ।
जनसंगठन समन्व्य संयन्त्रको बैठकलाई विहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखिएको बताए ।
ओलीको भनाइ उदृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भनेका छन् – जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’
पोखरा लगायत देशभरका विभिन्न पालिकामा ६ वटा छाप सूर्यमा हानेर एउटा विपक्षीलाई दिनेदेखि वडा सदस्यहरु सूर्यमा हानेर वडाध्यक्षलाई मत नदिने अवस्था देखिएको ओलीले बताए ।
बैठकमा अध्यक्ष ओलीले एमालेप्रति जनताको अपार बिश्वास रहे पनि नेताको तहबाटै घात भएको बताए । यस्तै अनुशासनको पाटोमा आएको स्खलनलाई समयमै उपचार जरुरी रहेको पनि अध्यक्ष ओलीले सचेत गराए ।
प्रतिक्रिया दिनुहोस्