विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।
आज बसेको प्रदेशसभा बैठकको बहुमतले पारित गरेको हो ।
सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।
यस्तै असार १ गते प्रदेशसभा बैठकमा बजेट पेस हुने भएकाे छ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे उपस्थित हुन सभामुखले अनुरोध गर्नु भएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बाेल्नु भएको थियो ।
छलफलमा उठेको प्रश्नकाे जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार-दृष्टिकोण फरक-फरक भए पनि प्रदेशको विकासमा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाउनु भयो । सरकारबाट भएका कमिकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उहाँकाे भनाइ छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले चुनावी सरकारले दीर्घकालीन महत्त्वका र पूरा हुन नसक्ने योजनाहरू ल्याएको भन्दै आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्