Ads

प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट (पूर्ण पाठ)


विराटनगर। प्रदेश १ सरकारले कुल ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ ।

बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् ।
प्रदेश १ सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकतामा राखेर बजेट पेस गरेको हो । बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको छ ।

आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बजेटमा उल्लेख गरे । चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख विनियोजन भएको थियो ।

प्रदेश सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूका लागि फरक फरक व्यवस्था भए पनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको छ ।

प्रदेशसभामा रहेका ९० जना सांसदले एक करोडका दरले खर्च गर्ने गरी बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै प्रदेशसभा सदस्यहरूको समान भूमिका रहने घोषणा गरेका हुन् । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश मातहतको अस्पतालहरूको स्तरोन्नती गरिने भएको छ । त्यसको लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री आङबोले जानकारी दिए ।

पर्यटन क्षेत्रको विकासका लागि डिजिटल वेब र मोबाइल एप निर्माण गर्ने पनि उल्लेख गरिएको छ ।

पर्यटन विकास लागि महत्त्वका साथ अघि बढाइएको मुन्धुम पदमार्ग यसै वर्ष सम्पन्न गर्ने र थप चार वटा पदमार्ग निर्माण गर्ने पनि घोषणा गरिएको छ ।
पर्यटकको बसाई अवधि बढाउन लामो र छोटो अवधि भ्रमण प्याकेज निर्माण गर्न सहयोग गर्ने पनि बताइएको छ ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने र विराटनगरबाट पहाडी जिल्लाहरूमा नियमित हवाई उडान र माउन्टेन फ्लाइट सञ्चालन गर्न पहल गर्ने बजेट मार्फत घोषणा गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू