Ads

सकियाे एमाले जनप्रतिनिधिहरूकाे प्रशिक्षण, २० बुँदे संकल्प जारी (पढ्नाेस् पूर्णपाठ)


काठमाडौं । नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण भेला काठमाडौं संकल्प जारी गर्दै सकिएकाे  छ । हिजोबाट काठमाडौंमा दुई दिने स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । सोही प्रशिक्षणमा सहभागि जनप्रतिनिधिहरूका तर्फबाट उक्त २० बुँदे संकल्प जारी भएको हो ।

संकल्पमा पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिवद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने उल्लेख छ । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौँ,’ पहिलो संकल्प बुँदामा भनिएको छ ।

यस्तै अन्य संकल्पका बुँदामा हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्नेछन्, हामीहरू सदाचारमा नमूना बन्नेछौँ, आफूले कुनै भ्रष्टाचार गर्नेछैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ लगायत रहेका छन् ।

भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा सङ्लग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछौँ संकल्पको पाँचौं बुँदामा भनिएको छ । समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपङ्क्तिमा उभिएर सामाजिक सांस्कृतिक रुपान्तरणको अगुवाइ गर्नेछौँ, अर्को बुँदामा भनिएको छ ।

समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने उल्लेख गर्दै सातौं बुँदामा भनिएको छ, ‘हामी पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गछौँ । तसर्थ आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्नेछौं ।’

सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुरयाउनु हाम्रो कर्तव्य हुनेछ । यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झण्झटिलोर पारदर्शी बनाउन लागिरहने छौँ, कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल संवोधन गर्नेछौँ, बेरुजु समयमै फस्र्योट गर्नेछौं र जनताबाट प्राप्तहुने सबै प्रकारका राजश्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्नेछौँ, जारी संकल्पका अन्य बुँदामा उल्लेख छन् ।

पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गंभीर ध्यान दिनेछौँ । प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरू एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र सम्बर्द्धनमा संवेदनशील बन्ने १०औं बुँदामा उल्लेख छ ।

पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौँ, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौं, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्नेछौँ र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौं भनेर ११औं बुँदामा प्रतिवद्धता जनाइएको छ ।

यस्तै १२औं बुँदामा पालिकालाई लैङ्गिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछूत अन्त्य गर्न, बालश्रम निर्मूलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्नेछौँ । १३औं बुँदामा विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने छौँ । योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवर्द्धन गर्नेछौं भन्ने उल्लेख छ ।

स्थानीय उत्पादनको सम्बर्द्धन र प्रबर्द्धन गर्नेछौँ । समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तीलाई प्रोत्साहन गर्नेछौँ, बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्नेछौँ, प्राकृतिक विपत्ती, महामारी र जनताको पीडामा अग्रपङ्क्तिमा उभिएर निस्वार्थ सेवाभावले काम गर्नेछौँ, अन्य बुँदामा उल्लेख छन् ।

यस्तै धूमपान, सूर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेर जस्ता कुरालाई निरुत्साहित गर्नेछौँ । बैठकहरूलाई छरितो, परिणाममुखी र विषय केन्द्रित बनाउने छौँ । बढीभन्दा बढी समय योजना निर्माण, कार्यान्वयन र सेवाप्रवाहमा व्यतीत गर्नेछौँ, १६ र १७औं बुँदामा उल्लेख छन् ।

१८औं बुँदामा नियुक्ति, सरुवा–बढुवा, सेवा सुविधा प्रवाह लगायतका विषयमा निष्पक्षता र योग्यतालाई आधार बनाउने छौँ । परिवार, आफन्तजन, स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौँ, १९ औंमा मुलुकको प्रचलित कानुनी व्यवस्था बमोजिम जिम्मेवारी वहन गर्दा र जिम्मेवारीबाट विदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नेछौँ । यसबारे उठ्ने कुनै पनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्नेछौं । र २० औं बुँदामा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्नेछौं भन्ने उल्लेख छ ।

 

Ads

सम्बन्धित पोष्टहरू