काठमाडौं । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आजको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
नेपालमा यो पटक औसतभन्दा एक साताअघि नै मनसुन भित्रिए पनि अझै देशभर फैलन सकेको छैन । महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र छ ।
बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न सकेको छैन । पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ । आइतबार बिहान पनि बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।
वर्षाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने भएकोले सतर्क रहन भनिएको छ । तराई एवं चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्