Ads

काठमाडौंमा बलात्कारपछि लुटपाट गरी भागेका आरोपित पक्राउ


काठमाडौंमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन्।

काभ्रे तेमाल गाउँपालिका-९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय भोटे भनिने विश्व तामाङलाई  प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

जेठ २९ गते राति एक २४ वर्षीया महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरेर तामाङ फरार भएका थिए।

प्रलोभनमा पारेर ती पीडितलाई काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेष्ट हाउसमा लगेका थिए। त्यहाँ लगेर पीडितलाई पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त दिन पीडितले आफूसँग १ लाख नगद, दुई तोला सुन र एउटा मोबाइल पनि बोकेकी थिइन्।

बलात्कापछि ती पुरूषले नगद, सुन र मोबाइलसमेत लुटेर फरार भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

यस घटनाबारे जेठ ३१ गते प्रहरी वृत्त कालिमाटीमा जाहेरी परेको थियो।

जाहेरी परेपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण र शारीरिक परीक्षण गराएको थियो।

‘प्रहरीसँग ती पुरूषको हुलिया, नाम, ठेगाना केही पनि थिएन। गेष्टहाउसमा पनि महिलाकै परिचयपत्र, मोबाइल नम्बर राखेर डाटा इन्ट्री गरिएको थियो’, मैनालीले भने,‘अनुसन्धान गर्न प्रहरीसँग सूचना शून्य जस्तै थियो। तर विभिन्न तरिकाबाट अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्यो।’

अनुसन्धानका विविध पाटा केलाउँदै पीडकसम्म प्रहरी पुगेको मैनालीले बताए।

‘हामीले अनुसन्धानका विविध विधि र प्रविधिमार्फत अनुसन्धान गर्दै जाँदा पीडकको पहिचान खुल्न आयो,’ मैनालीले सेतोपाटीसँग भने।

यसै क्रममा प्रहरी वृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले भोटे भन्ने तामाङलाई आइतबार राति ११ बजे पक्राउ गरेको हो।

Ads

सम्बन्धित पोष्टहरू