काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार आयोजित ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।
बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन् ।
पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले राताे किताब छाप्नु गल्ती हाे भन्दै माफी मागेपछि नगर सभा सुरु भएकाे थियाे ।
नगर सभामा महानगरका उपप्रमुखले बजेट प्रस्तुत नगर्दै राताे किताब बाँडिएपछि एमालेका नगर सभा सदस्यहरुले सभा बहिस्कार गरेका थिए ।
लगत्तै बसेकाे सर्बपक्षीय बैठकमा राताे किताब छाप्नु गल्ती भएकाे भन्दै नगर प्रमुख र प्रमुख प्रशासकीय प्रमुखले माफी मागेकाे एमाले नेतृ राधिका याेगीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्