काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओकाे शिष्टाचार भेट भएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
साे अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरे । उनले आइतबार कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै बालुवाटार र सिंहदरबारमा भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारे ।
दुवै भेटवार्तामा उपस्थित कुटनीतिज्ञ तथा देउवाका अघिल्लो कार्यकालमा परराष्ट्र सल्लाहकार रहेका दिनेस भट्टराईले सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको बताएको जानकारी दिएकाे सञ्चार माध्यमहरूले जनाएका छन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री देउव र परराष्ट्र मन्त्री खड्काले ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालमा कुनै पनि चीन विरोध गतिविधि हुन दिन्नौं’ भन्दै लिउलाई आश्वस्त पारेका थिए । जवाफमा लिउले त्यसको लागि प्रशंसा गरे ।
उनले नेपालमा चीनको मामिलालाई लिएर सबै पार्टीहरु बीचमा एकै धारणा र विचार पाउँदा आफूलाई खुसी लागेको बताएका थिए । ‘पार्टीहरुबीचको चीन मामिलामा एकता देखेर हामी उत्साहित छौं,’ लिउले भने ।
नेपालको तीन दिने भ्रमणमा आएका लिउलाई आइतबार बेलुकी परराष्ट्र मन्त्री खड्काले रात्रीभोज दिएका छन् । विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उनीले सोमबारै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने छन् । उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा नेकपा एसका अध्यक्ष नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई होटलमा भेट्ने कार्यक्रम रहेको छ ।
लिउले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । लिउ बुधबार बेइजिङ फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस्