काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको बताउनुभएकाे छ ।
बुधबार अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उहाँले एमालेको एउटा विभागको नामलाई लिएर गभर्नरमाथिको आक्रमण जायज नभएको बताउनुभयाे ।
एमाले महासचिव पोखरेलले भन्नुभयाे, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।’ कालो धनलाई सेतो बनाउने योजना असफल भएपछि सरकारले गभर्नरमाथि आक्रमण सुरु गरेको उहाँकाे भनाइ छ ।
अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्न खोज्नेलाई प्रोत्साहन गर्नु भएको पोखरेलले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘जबकी पार्टीले भनिसकेको छ गभर्नर विभागको सदस्य होइनन्, गभर्नर आफैंले पनि भनिसक्नुभएको छ म विभागको सदस्य होइन, यो विषयमा बहस असान्दिर्भक छ । ’
अर्काे प्रसंगमा महासचिव पोखरेलले जनमतका आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो भएको बताएकाे बताउनुभयाे । उहाँले गठवन्धन बनाएर चुनाव जितेको कांग्रेसलाई पहिलो पार्टी भन्न नमिल्ने तर्क गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘हामीले गठबन्धनसँग चुनाव हारेको साँचो हो । तर, गठबन्धन बनाएर चुनाव जितेको कांग्रेस पहिलो भयो भन्ने व्याख्यासँग हामी सहमत छैनौं । पार्टीगतरूपमा कांग्रेस पहिलो होइन । जनमतमा कांग्रेस एमालेभन्दा पछाडि छ । त्यसैले एमाले पहिलो र कांग्रेस दोस्रो हो । चुनाव लड्दा गठवन्धनबाट लड्ने पार्टी कांग्रेस पहिलो भयो भन्न मिल्दैन । हामी त्यसको प्रतिवाद गर्छौं ।’
प्रतिक्रिया दिनुहोस्