काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मत विश्लेषण आ आफ्नै ढंगले गरेर लोकप्रिय मत दाबी गरिरहेका बेला आधिकारिक विवरण सार्वजनिक गरेको छ ।
आयोगले मंगलवार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको आधिकारिक सम्पूर्ण सिट र मत परिणामसहितको विवरण सार्वजनिक गरेको हो ।
३२९ स्थानीय तहको प्रमुख पद जितेर सिटमा पहिलो बनेको नेपाली कांग्रेस समग्र मतमा भने एमालेभन्दा पछि परेको आयोगले जनाएको छ ।
कांग्रेसले अध्यक्ष र प्रमुख पदमा प्राप्त गरेको मतभन्दा एमाले करिब एक लाख मतले अगाडि रहेको छ । वडाध्यक्षतर्फको मतमा भने नेपाली काँग्रेसले अग्रता पाएको छ ।
वडाध्यक्षतर्फ कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ १ मत पाउँदा नेकपा एमालेले ३८ लाख ११ हजार ६ सय २ मत पाएको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रले १५ लाख ३ हजार २ सय ४७ मत पाएको छ ।
जसपा ५ लाख ५७ हजार ६६२ मतसहित चौथो स्थानमा रहेको छ भने नेकपा एसले ४ लाख ५८ हजार ४६० मत पाएर पाँचौँ स्थानमा रहेको आयोगले जनाएको छ ।
त्यस्तै स्थानीय तह निर्वाचनमा ४० वर्ष मुनिका ४१ प्रतिशत युवा निर्वाचित भएका छन् ।
सार्वजनिक विवरणअनुसार ३५ हजार ९७ जना जनप्रतिनिधि निर्वाचित हुँदा ४० वर्ष मुनिका १४ हजार ४४२ जना निर्वाचित भएका हुन् । जुन ४१.१४ प्रतिशत हो ।
सबैभन्दा धेरै ४१ देखि ६० वर्षमा ५२.२७ प्रतिशत अर्थात १८ हजार ३४७ जना निर्वाचित भएका छन् । यस्तै, ६ प्रतिशत ६१ देखि ८० वर्षका व्यक्ति ६.५२ प्रतिशत अर्थात २ हजार २ सय ९१ जना निर्वाचित भएका छन् ।
आयोगका अनुसार ८१ वर्ष माथिका पनि १७ जना व्यक्ति निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्