Ads

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन मंसिर ४ गतेका लागि घोषणा गर्ने तयारी


काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गतेका लागि सरकारले निर्णय गर्ने तयारी गरेको बताउनुभएको छ । निर्वाचन आयोगमा आज भएको पत्रकार सम्मेलनमा उहाँले सो जानकारी गराउनुभएको हो ।

“आयोगले आगामी मंसिर २ गतेका लागि  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मितिबारे परामर्श सरकारलाई दिएपनि मंसिर ४ गते निर्वाचन एकै चरणमा गर्नेगरी सरकारले आगामी मन्त्रीपरिषद बैठकबाट निर्णय गरेमा आश्चर्य नमान्नुहोला” उहाँले भन्नुभयो । सामान्यतयाः निर्वाचन गर्न आयोगलाई १२० दिन समय चाहिने भएपनि अब घोषणा हुने मितिले सो दिन अपुग हुने उहाँले बताउनुभयो ।

आगामी निर्वाचनबारे आयोगले आन्तरिक तयारी गरिरहेकाले केही समय कम भएपनि आयोग निर्वाचन सम्पन्न गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसअघि गत वैशाख ३० गते भएको निर्वाचनमा प्रयोग भएका केही सामग्री आउने निर्वाचनमा पनि प्रयोग हुने भन्नुहुँदै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “आगामी निर्वाचनमा खर्चको अनुपात केही बढ्ने देखिए पनि सकेसम्म मितव्ययी बनाउने प्रयासमा आयोग लाग्छ ।”

“मतदाता बढ्छन्, मतपत्र संख्या बढ्छ, महङ्गी बढेको छ, कर्मचारीको तलब बृद्धि भएको छ, मतपेटिका संख्या बढ्छ, मतपत्र संख्या बढ्छ, यी यावत कारणले आगामी निर्वाचनमा खर्च अनुपात बढ्छ” उहाँले भन्नुभयो, “खर्च मितव्ययी बनाउन आगामी निर्वाचन पनि एकै चरणमा गर्ने सरकारलाई सुझाएका छौं ।”

साउन १५ गतेपछि सरकारले मन्त्रीपरिषदबाट निर्णय गरी निर्वाचनको मिति घोषणा गर्ने पनि प्रमुख आयुक्त थपलियाले बताउनुभयो । आयोगले साउन १५ गतेसम्म मतदाता नामावली सूची दर्ता गर्ने समयको अनुमानित समय निर्धारण गरेपनि निर्वाचन मिति घोषणा भए लगत्तै नामावली सूची दर्ताको काम बन्द हुने उहाँले जानकारी दिनुभयो ।

भोटिङ मेशिन प्रयोग : सम्भावना कति ? 

आगामी निर्वाचनका लगि निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेशिन (इभीएम) प्रयोग गर्नेगरी सरकारलाई परामर्श दिएको भएपनि मेशिन प्रयोगको विषय आयोगका लागि ‘आकाशको फल आँखातरि मर’ भएको उहाँले बताउनुभयो । सरकारले मेशिन उपलब्धताको समयमै व्यवस्थापन गरे आयोगले इभीएममै निर्वाचन गराउने उहाँले बताउनुभयो । “हामी सकेसम्म इलेक्ट्रीक भोटिङ मेशिनमै निर्वाचन गराउन आतुर छौं, सरकारले उपयुक्त व्यवस्थापन गरेमा आयोग तयार छ” उहाँले भन्नुभयो ।

आगामी निर्वाचन मंसिरमै गराउनेगरी सरकारले आयोगलाई विश्वास दिलाएकाले निर्वाचनको आन्तरिक तयारीमा आयोग लागिसकेको उहाँले बताउनुभयो । आगामी निर्वाचनका लागि खर्च अनुपात बढ्ने निश्चित भएपनि अझै कति खर्च लाग्छ भन्नेबारे हिसाव गरिनसकेको उहाँले बताउनुभयो । सरकारले निर्वाचनको मिति तोकेपछि त्यसबारे निर्णय हुने उहाँले बताउनुभयो । (गाेरखापत्र अनलाइनमा आधारित ।)

Ads

सम्बन्धित पोष्टहरू