झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झनै बर्बादीतर्फ धकेलिने तथ्य औंल्याउनु भएको छ । तीन दिने गृहजिल्ला भ्रमणमा आउनु भएका एमाले अध्यक्ष ओलीले गठबन्धनले ज्याद्धती गरेकाे भन्दै यस्तो बताउनु भएको हो ।
झापाको विर्तामोडमा आज आयोजित बृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई चुनाव केन्द्रित प्रचारप्रसारमा अहिलेदेखि नै टोल टोलमा खट्न निर्देशन दिनुभयो ।
ओलीले पार्टीसहित हरेक भातृ संगठनहरुले टोल–टोलमा सङ्गठन, घर–घरमा सदस्यको नारालाई पूरा गर्न अभियान लिएर अघि बढ्नुपर्ने बेला आएको बताउनु भयो । ‘अव हाम्रा हरेक जनसंगठन टोलटोलमा संगठन, घरघरमा सदस्यको अभियान पूरा गर्न लाग्नुपर्छ,’ ओलीले भन्नुभयो ।
उहाँले जनतालाई प्रशिक्षत नगर्दा अघिल्लोनिर्वाचनमा एमालेको धेरै भोट बदर भएको तथ्य राखेर अव सवै नेता कार्यकर्ता जनताको घरमा भेटिनु पर्ने बताउनु भयो । ‘२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको धेरै भोट खेर गर्यो, बदर भयो। हाम्रो एउटा पनि भोट खेर जानु हुँदैन । यति धेरै भोट कसरी बदर हुन्छ ?,’ ओलीले भन्नुभयो ।
उहाँले चुनावमा भोट कसरी हाल्नुपर्छ भनेर एमालेले मतदातालाई बुझाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । ‘अब मतदातालाई राजनीतिकदेखि व्यवहारिक प्रशिक्षण गर्नु जरुरी छ । मत वृद्धि र मत रक्षा दुवै गर्नुहोस्। अरूले भ्रममा पारेर भोट लुट्ने, खोस्ने र किन्ने गर्छन्, त्यसलाई रोक्नुहोस्,’ ओलीको भनाई थियो ।
उहाँले झापा जिल्ला आन्दोलनको उर्वभर भूमि भएको र नयाँ युगको सुरुवात यहीँबाट भएको पनि बताउनु भयो । ’यो जिल्ला लालकिल्ला पनि हो । २०४८ सालको निर्वाचनमा ’मेची अञ्चल, चार जिल्ला, लालकिल्ला’ भनेर हामीले नारा लगाएका थियौं। अब फेरि लालकिल्लाको नारा लगाउने बेला आएको छ,’ ओलीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्