Ads

एमालेलाई कमजोर बनाएपछि बिस्तारै माओवादीलाई पनि कमजोर बनाउने देशी विदेशी शक्तिहरूकाे रणनीति : पाण्डे


सिन्धुपाल्चोक । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे ले कांग्रेस, माओवादी, समाजवादी लगायत दलहरूको गठबन्धनको ‘माया प्रीति’ मंसिरको चुनाव पछि नरहने दाबी गरेका छन् ।

कांग्रेसले अहिले गठबन्धन भित्रका दलहरूलाई आफू बलियो हुनका लागि माया प्रीति देखाएको उल्लेख गर्दै उनले यो माया प्रेम चुनाव पछि सकिने बताए ।

नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाली कांग्रेसले अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको ललिपप देखाएर फकाए पनि कांग्रेसले उनलाई प्रधानमन्त्री कुनै पनि हालतमा नबनाउने ठोकुवा गरे ।

प्रचण्ड अहिले प्रधानमन्त्रीको लोभमा फसेको बताउँदै उपाध्यक्ष पाण्डेले चुनावपछि माओवादीलाई काँग्रेसले प्रधानमन्त्री नबनाउने कांग्रेसकै नेताहरूले बताएको उनले बताए ।

देश, विदेशका शक्तिहरू अहिले एमालेलाई कमजोर बनाउन लागेको बताउँदै एमालेलाई कमजोर बनाएपछि बिस्तारै माओवादीलाई पनि कमजोर बनाउने रणनीति रहेको उपाध्यक्ष पाण्डेको भनाई छ ।

‘अहिले हामीलाई कमजोर बनाउँदा कम्युनिस्टहरू नै खुसी मनाउँदै होलान् तर बिस्तारै अरू कम्युनिस्ट शक्तिहरूलाई पनि कमजोर बनाउने खेलमा देशी, विदेशी शक्तिहरू लागेका छन्’ पाण्डेले भने ।

नेपाली कांग्रेससँग मुकाबिला गर्ने एउटा मात्रै पार्टी एमाले भएकाले नेपालका सबै कम्युनिस्टहरू ढिलो चाँडो एमालेमा आउनुको विकल्प नरहेको बताए । पाण्डेले घुमाउरो रूपमा आउने चुनावमा वामपन्थीहरू मिल्नु पर्नेमा जोड दिए ।

एमाले छाडेर अन्य पार्टीमा गएकाहरूलाई अब एमालेमा नै फर्कनका लागि पनि उपाध्यक्ष पाण्डेले आग्रह गरे । घरमा कहिलेकाहीँ झगडा हुन्छ, तर त्यही सामान्य झगडालाई लिएर घरै छाडेर जानु गलत भएको पाण्डेको भनाई थियो । घर छाडेर जानुभएका सबै आफ्नो घरमा फर्कनुहोस्, हामी यहाँहरूलाई उचित सम्मान गर्छौ’ पाण्डेले भने ।

पुर्व अर्थमन्त्री समेत रहेका पाण्डेले अहिलेकै अवस्था रहिरहने हो भने देश श्रीलंकाको हालतमा पुग्ने बताए । गएको आर्थिक वर्षमा १८ खरबको आयत र २ खरबको मात्रै निर्यात भएको बताउँदै पाण्डेले अब स्वदेशी उत्पादनमा जोड दिनु पर्ने बताए ।

दुई दिन सम्म जारी रहने प्रशिक्षणमा एमाले स्थायी कमिटी सदस्यद्वय काशिनाथ अधिकारी, शेरबहादुर तामाङ, केन्द्रीय सदस्यहरू अरुण नेपाल, दावा तामाङ, सरेस नेपाल लगायत एमालेका नेताहरूले विभिन्न विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटीका पदाधिकारीहरू, वडा कमिटीका अध्यक्ष, स्थानीय निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरू, जनवर्गीय संगठनका प्रतिनिधि लगायत तिन सय बढी नेता कार्यकर्ताहरूको प्रशिक्षणमा सहभागिता रहेको  थियाे ।

Ads

सम्बन्धित पोष्टहरू