काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नु परेको दाेहाेर्याउनु भएकाे छ ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेकै कारण प्रधानमन्त्रीबाट हट्नु परेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय हुन सक्दैन । तर नेपालको नक्साबाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि म प्रधानमन्त्रीबाट हट्नुपर्नेछ भन्ने थाहा थियो । नभन्दै हट्नुपर्यो पनि ।’
सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको पनि अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले आफुहरु कसैका विरुद्ध नरहेको भन्दै आफ्नो राष्ट्रियताका पक्षमा रहेको बताउनु भयो ।
उहाँले देशलाई आमासँग तुलना गरिएको भन्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर कुनै पनि बेठीक कार्य गर्न नसकिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्