काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताउनु भएकाे छ । ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताउनुभयाे ।
एमाले उपत्यका विशेष प्रदेश कमिटी रणनीति कार्यशालाको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ, तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’
अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतीमा लगेको भन्दै ओलीले उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताउनुभयाे । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने उहाँले दोहोर्याउनुभयाे।
‘मोहन विक्रम सिंहको गन्तव्य के हो भन्दा–प्युठान, आआफ्ना छन्, शेरबहादुरको के हो भन्दा–म्याडम साहेबा, प्रचण्डको गन्तव्य के हो भन्दा–सुपुत्री,’ ओलीले भन्नुभयाे, ‘यस्ता यस्ता गन्तव्य लिएर हिंडेका छन् यिनीहरु, त्यसका लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् । माधव नेपालको त नाम नलिउँ होला उनको त छटपटीमा जुनी बित्छ, गन्तव्य सन्तव्य केही छैन, बिचराको ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्यो ।’
अध्यक्ष ओलीले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको बताउनुभयाे ।
अध्यक्षओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गर्नुभयाे ।
पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘महाअभियोग प्रस्ततावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ, प्रस्ताव अघि बढ्दैन ।’
प्रतिक्रिया दिनुहोस्