काठमाडौँ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ ।
निगमले यस अघि बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने जनाएकाे हो । निगमले इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पनि बक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ । सरकारले पेट्रोलियम पदार्थको कर घटाउने बताए पनि नघटाएर शोधभर्ना दिँदा पेट्रोलियम पदार्थको मूल्य घटाउन समस्या भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।
प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा २ रुपियाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपियाँ ३७ पैसा घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४९९ रुपियाँ ५७ पैसा घाटा रहेको छ ।
पहिले पनि पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा कम मात्र मूल्य बढाएका थियौँ, अहिले केही घटेर आउने वित्तिकै मूल्य नघटेको हो, उहाँले भन्नुभयो ।
गत असार ११ गते उद्योगमन्त्री दीलेन्द्रप्रसाद बडुले पत्रकार सम्मेलन गरेर सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैँया कर कटौती भएको बताउनुभयो । तर, न पेट्रोलियम पदार्थमाथिको कर घटेको छ न त आयल निगमको घाटा नै कम भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्