धनुषा । महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । भंगहा नगरपालिका–१ कञ्चजनवनमा आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।
घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मट्टितेल खन्याएर आगो लगाएका हुन् ।
शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिट्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए ।
सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटनापश्चात् फरार छन् ।
प्रतिक्रिया दिनुहोस्