काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले) ले आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
दल दर्ताका लागि पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय डा.राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख निरज आचार्य लगायत नेताहरू सहितको टोली निर्वाचन आयोग गएको थियो ।
आयोगमा दल दर्ता गराउने नेकपा (एमाले) दशौं दल भएको निर्वाचन आयोगले जानकारी गराएको छ ।
शंकर पोखरेल
महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नुभयाे ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नुभएका उहाँले पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुँदै सरकार निर्माणका क्रममा बहुमतका लागि गठबन्धन गर्नु उचित भए पनि चुनावअघि नै गठबन्धन गर्नु उचित नहुने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्छन् ।’
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार भएको टिप्पणी गर्नुभयो ।
महासचिव पोखरेलले एमाले भने आफ्नो नीतिको आधारमा अघि बढ्ने र आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्ने बताउनु भयो ।
प्रदीप ज्ञवाली
उपमहासचिव प्रदीप ज्ञवालीले स्वच्छ प्रतिस्पर्धा गरेर जनताको बीचमा जनमतका लागि जानुपर्ने बताउनु भयाे ।
आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेपछि उपमहासचिव ज्ञवालीले गठबन्धन असफल सावित भइसकेको भन्दै यस्तो बताउनु भएको हो ।
गठबन्धनको राजनीति देशको दीर्घकालीन हितमा नहुने ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दीर्घकालीन रूपमा यो लोकतन्त्रको लागि स्वास्थ्यकर होइन, गठबन्धन गर्दा कसको विचार लागु गर्नु ?’
गठबन्धनका कुन चाहिँ पार्टीको विचारलाई हेरेर जनताले भोट दिने भन्ने प्रश्न उठ्ने ज्ञवालीको भनाई छ। यसले जनताको स्वतन्त्र छनोट गर्ने अधिकारलाई कुण्ठित गर्ने ज्ञवालीले बताउनुभयो । तर पनि त्यो गठबन्धनका दलको स्वतन्त्रताको कुरा भएको उहाँ प्रष्ट पार्नुभयो ।
एमाले चुनावमा जान कसैको सहारा लिनुपर्छ भन्ने पक्षमा नरहेको उहाँले बताउनुभयो । ‘जो कमजोर हुन्छ, उसको लागि सहारा चाहिने हो’, ज्ञवालीले भन्नुभयो ।
ज्ञवालीले एमाले एक्लै जनताको बीचमा जाने र जनताले बहुमत दिने विश्वास व्यक्त गर्नुभयो । तथापि एमालेसँग मिलेर जान चाहने दलसँग स्थानीय तहमा काहीँ कतै तालमेल भने हुनु सक्ने उहाँले बताउनुभयो । तर राष्ट्रिय स्तरमा गठबन्धन गरेर एमाले चुनावमा नजाने उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्