काठमाडाैँ । पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अमेरिकामा आफ्नाे ऋण र सम्पत्ति बाँकी नरहेकाे बताएका छन् ।
सामाजिक सञ्जालमा गरिएका टिप्पणीकाे जवाफमा लामिछानेले संसारमा आफूविरुद्ध कुनै मुद्दासमेत बाँकी नरहेको बताएका हुन् ।
लामिछानेलाई केही अमेरिकी बैंकले प्रतिवादी बनाएर मेरिल्याण्ड राज्यमा मुद्दा दर्ता गरेकाे र समग्रमा उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भएको दाबी कतिपयले सोसल मिडियामा गरेका थिए । फेसबुकमार्फत जवाफ दिँदै उनले लेखेका छन्, ‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन । मैले सबै तिरोतारो सकिसकेको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ति नै छ ।’
उनले लेखेका छन्, ‘भागेको, लुकेको, ठगेको केही पनि होइन । भुलेको भए बेग्लै कुरा तर मैले नियतवश ब्यक्तिगत लेनदेन समेत, कसैलाई केही तिर्नुपर्ने बाँकी राखेको छैन ।’
सञ्चारमाध्यममा काम गर्दागर्दै लामिछाने अमेरिका गएका थिए । केही वर्षअघि उनी नेपाल फर्केर फेरि सञ्चारकर्ममै जोडिएका थिए ।
प्रतिक्रिया दिनुहोस्