न्युयोर्क / अमेरिकाको पश्चिम न्युयोर्कस्थित चौताउक्वा इन्स्टिच्युसनमा एक विशेष कार्यक्रम बोल्न मञ्चमा परिचय गरिँदै गर्दा विश्वप्रसिद्ध उपन्यासकार ७५ वर्षीय सलमान रुस्दीमाथि छुरा प्रहार भएको छ । उनलाई अमेरिकी समयअनुसार बिहान ११ बजे एक व्यक्ति मञ्चमा गएर रुस्दीमाथि छुरा प्रहार गरेका थिए ।
रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको र आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको बताइएको छ । आक्रमणपछि रुस्दी भुइँमा ढलेका थिए । रुस्दी ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् ।
रुस्दीको स्वास्थ्य अवस्थाबारे अझैसम्म पनि खुलाइएको छैन । धेरै पटक छुरा प्रहार गरिएको र रगत बढी बगेका कारण उनको अवस्था गम्भीर रहेको हुनसक्ने आकलन गरिएको छ ।
भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए । सो किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।
पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मानिस मारिएका थिए । जसमा पुस्तकका अनुवादक पनि थिए । रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ ।
घटनाका बेला एसोसिएटेड प्रेसका रिपोर्टर पनि मौजुद रहेको र उनले छुरा प्रहार गर्ने मानिसले १० देखि १५ पटक प्रहार गरेको बताएका छन् ।
२० सेकेन्डमा नै यस्तो अविश्वसनीय घटनापछि कार्यक्रम स्थलमा भागाभाग भएको थियो । रूस्दीलाई सुन्न भनेर सयौँ मानिसहरू कार्यक्रममा आएका थिए ।
रूस्दी पेन अमेरिकाका पूर्व अध्यक्ष पनि हुन् । उनी स्वतन्त्रताका हिमायतीका रूपमा चिनिएका छन् ।
अमेरिकाभित्र आफ्ना पूर्व अध्यक्षमाथि यस्तो आक्रमणले आफू छक्क परेको पेन अमेरिकाकी प्रमुख कार्यकारी सुजाने नोसेलले विज्ञप्ति जारी गरी बताएकी छन् ।
फतवायता रूस्दीलाई बेलायती सरकारले विशेष सुरक्षा उपलब्ध गराउँदै आएको थियो । नौ वर्ष गुप्तवास बसेका उनी पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रमहरूमा देखिदै आएका थिए । उनले धार्मिक अन्धता र अतिवादमाथि आलोचना गर्दैआएका थिए ।
इरानी सरकारले पछिल्लो समय रूस्दीप्रति नरम धारणा राखेको भए पनि अतिवादी मुस्लिमहरूले २०१६ ताका उनको हत्याका लागि पुरस्कार रकम बढाउने प्रयास गरेको खबर सार्वजनिक भएको थियो ।
सन् २०१२ मा रूस्दीले आफू नौ वर्ष गुप्तवास बस्दाको तनाव र फतवाको असरमाथि ‘जोसेफ एन्टोन’ संस्मरण लेखेका थिए ।
रूस्दीले ‘मिडनाइट्स चिल्ड्रेन’बाट सन् १९८१ मा बुकर पुरस्कार जितेका थिए । त्यसयता उनी ज्यादै चर्चामा आएका उनको ‘द सटानिक भर्सेस’ प्रकाशित भएपछि विश्वभर चर्चित बन्न पुगेका थिए ।
न्युयोर्कको बफेलोको गाउँछेउमा रहेको चौताउक्वा इन्स्टिच्युसनले गर्मीयाममा संसारभरका ज्ञानीहरूको भाषण शृङ्खला चलाउने गरेको छ । सो शृङ्खलामा उनले एक घण्टाभन्दा बढी बोल्ने कार्यक्रम थियो । उनी कार्यक्रममा बोल्न निम्त्याउनुअघि परिचय दिने क्रममा आक्रमणमा परे । यसअघि पनि यस संस्थामा उनले एक पटक लेक्चर दिइसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्