Ads

उम्मेदवार मनोनयनको पत्र दिने जिम्मेवारी देउवालाई,शेखर पक्षले बोलायो छुट्टै बैठक


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आज  पार्टी कार्यालय सानेपामा बसेको बैठकले पाँच वटा निर्णय गरेको छ ।

आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेकाे छ ।

उता डा.शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहले भ्रातृ संस्था गठन र पूर्णता दिने विषयमा परामर्श र सहमति गर्न माग गरेपनि संस्थापन पक्ष एक्लै अगाडि बढेपछि कोइराला असन्टुष्ट बनेकाे छ ।

सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र राउत, नेपाल किसान संघमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरिसकेका छन् ।

मनोनयन भएका सबै भ्रातृ संस्थाका अध्यक्षहरु संस्थापन पक्षका हुन् । सभापति देउवाले कुनैपनि भ्रातृ संस्थाको नेतृत्व दिन नचाहेपछि संस्थापनइतर पक्ष आक्रोशित छ । यिनै विषयमा छलफल गर्न शेखर समूहको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेपछि बस्ने बैठकमा शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य र अन्य नेताहरुलाई बोलाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू