Ads

प्रचण्डलाई आयोगकाे प्रश्न : १० करोड खर्चेर चुनाव जित्ने पालिका अध्यक्ष को हुन् ?


काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग चुनावमा करोडौं खर्च हुने भनेर दिएको अभिव्यक्तिबारे सूचना मागेको छ ।

आयोगले कानुन अधिकृत मोहनराज जोशीको नामबाट साउन १० माओवादी पार्टी कार्यालयलाई पत्र पठाएको थियो । कार्यालयले पत्र बुझ्न नमानेपछि साउन ११ गते हुलाकमार्फत पुन: पत्र पठाइएको आयोगले जनाएको छ ।

पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आयोगले तोकेको हदभन्दा बढी खर्च हुने गरेको अभिव्यक्ति दिएको भन्दै सूचना उपलब्ध गराउन पत्र पठाएको हो ।

पत्रमा भनिएको छ, ‘देशको पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा जिम्मेवार दलको नेताले दिएको अभिव्यक्तिलाई आयोगले गम्भीरताका साथ लिई प्रमाणका रूपमा प्रयोग गर्न सक्ने हुन्छ ।’

आयोगले तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा खर्चविवरण नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिएको पनि उक्त पत्रमा उल्लेख गरेको छ ।

अध्यक्ष दाहालले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवस कार्यक्रममा ‘एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गरेर जितेको’ देखिएको बताएकाे इकान्तिपुर डटकमले उल्लेख गरेकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू