काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गर्नुभएको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित गर्ने तयारी भएको छ।
सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बुधबार प्रकाशन भइसकेको छ।
राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको थियो। साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पेस गरिएको थियो।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सरकारसँगको परामर्शका आधारमा सम्भावित कार्यसूची तय गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विधेयक चाँडो अघि बढाउने सरकारको तयारी छ। भोलि नै सबै प्रक्रिया पूरा हुन सक्छ।”
सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेको थियो। गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा बिहीबार गृहमन्त्री खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् प्रस्ताव पेस गर्नुहुनेछ। त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ। छलफलपछि विधेयक पारितको कार्यसूची रहनेछ।
यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो। यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट ट्र्याक’मै अघि बढेको थियो।
यसअघि दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि पठाइएको थियो तर राष्ट्रपति भण्डारीले केही व्यवस्थामा ध्यानाकर्षण गराउँदै पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो। फिर्तामा सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको मिश्रित प्रतिक्रिया हुँदा प्रमुख प्रतिपक्षी दल एमालेले भने स्वागत गरेको थियो।
प्रतिक्रिया दिनुहोस्