काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
बिहान ११ बजे अस्पताल पुग्नुभएका राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहनुभएको थियो ।
यसअघि आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किनुभएको थियो ।
नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा. पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उहाँको उपचारमा संलग्नछ ।
प्रतिक्रिया दिनुहोस्